बिहीबार , कात्तिक १९ गते २०८३

जापानको राजदूतबाट नाम फिर्ता लिए जिज्ञानकुमार थापाले, भने– जनताको सेवा गर्न पद नै अन्तिम माध्यम होइन

जापानको राजदूतबाट नाम फिर्ता लिए जिज्ञानकुमार थापाले, भने– जनताको सेवा गर्न पद नै अन्तिम माध्यम होइन

अखबार दैनिक
सोमबार, कात्तिक १६ २०८३
  • जापानको राजदूतबाट नाम फिर्ता लिए जिज्ञानकुमार थापाले, भने– जनताको सेवा गर्न पद नै अन्तिम माध्यम होइन

    १६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। उनले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै राजदूत नियुक्तिका लागि गरिएको आफ्नो सिफारिसबाट नाम फिर्ता लिएको जानकारी गराएका हुन्।

    थापाले समितिलाई पठाएको पत्रमा देश र जनताको सेवा गर्न कुनै पद नै अन्तिम माध्यम नभएको उल्लेख गरेका छन्। उनले आगामी दिनमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठापूर्वक बहन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले पत्रमा लेखेका छन्, ‘देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम होइन। आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न म सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

    गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो। नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।

    साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो। जापानका लागि प्रस्तावित थापाको हकमा भने जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको विषय उठेपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो।

    संसदीय सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानको पीआरसम्बन्धी विषयमा प्रश्न उठाएका थिए। जवाफमा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए।

    तर, संविधानको धारा २९१ मा रहेको विदेशको स्थायी आवासीय अनुमतिसम्बन्धी व्यवस्थाका साथै पीआर त्यागेको समयावधिबारे सांसदहरूले थप प्रश्न उठाएका थिए।

    यस विषयमा संसदीय सुनुवाइ समितिबाट अन्तिम निर्णय हुनुअघि नै थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्।

    थापाको नाम फिर्तासँगै जापानका लागि नेपाली राजदूत नियुक्तिको प्रक्रिया थप अनिश्चित बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार