सोमबार, असोज २६ गते २०८३

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

अखबार दैनिक
आइतबार, असोज २५ २०८३
  • श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

    भक्तपुर, २५ असोजः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ ।    
        
    भक्तपुरको दधीकोटमा सञ्चालनमा आएको एभरेष्ट मल्टी स्किल प्रालिको आज उद्घाटन गर्दै उहाँले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारीलाई चिर्न बजारले खोजेको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताउनुभयो ।    
        
    मन्त्री यादवले भन्नुभयो, “अहिले दक्ष जनशक्तिको आवश्यकता रहेको छ, बजारको मागअनुसारको सीप र सीपअनुसारको रोजगार दिन तालिम र सीप प्राप्त जनशक्तिलाई रोजगारसँग जोडनुपर्छ, कतिले तालिम पाए भन्ने कुराले महत्त्व राख्दैन, कतिले रोजगारी पाए, कतिले आर्थिक उन्नति गरे त्यसले महत्त्व राख्दछ, त्यसका लागि सबै लाग्नुपर्छ ।”    
        
    बजारले खोजेको सीप र उत्पादन भइरहेको जनशक्तिबीचको ठूलो खाडल रहेको चर्चा गर्दै उहाँले युवालाई सीप सिक्न नहिचकिचाउन तथा विदेश जाने युवालाई सीपयुक्त दक्ष तथा सुरक्षित श्रमिकका रूपमा मात्र पठाउने र स्वदेशमै रहनेहरूका लागि सम्मानजनक रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकतालाई यस प्रकारको सीप केन्द्रले टेवा पुग्ने बताउनुभयो । उहाँले सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।    
        
    कार्यक्रममा एभरेष्ट मल्टी स्किल प्रालीका अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सीप नभएका श्रीमक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउन गरेको बताउँदै सीप लिएर गएका जनशक्तिले विदेशमा सजिलो एवं पारिश्रमिक पनि राम्रो पाउने गरेको बताउनुभयो ।    
        
    विगत २५ वर्षदेखि मलेसियामा बसेर व्यवसाय गर्दै आउनुभएका उहाँले विदेश जाँदा होस् वा स्वदेशमै रोजगारी खोज्दा हातमा सीप र कला भएमा राम्रो तलब र अवसर पाइने बताउनुभयो ।    
        
    अध्यक्ष न्यौपानेले भक्तपुरमा सञ्चालनमा आएको तालिम केन्द्रले देशमा रहेको अदक्ष र अर्धदक्ष जनशक्तिलाई पूर्ण दक्ष जनशक्ति बनाउने र सहज रूपमा विदेशमा रोजगारीका लागि जानसक्ने बताउनुभयो ।    
        
    कार्यक्रममा सञ्चालक अनन्तराम खतिवडाले विदेशमा लामो समय व्यावसायिक रूपमा रहेर अनुभवी चार जना व्यवसायीको सहुले तालिम केन्द्र सञ्चालनमा ल्याएको बताउँदै आवासीय यस तालिम केन्द्रमा सिटीइभिटीबाट ३० वटा तालिमको अनुमति लिएर १५० शय्याको आवासीय तालिम केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।    
        
    कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सांसद राजीव खत्रीले सरकारले प्रत्येक नागरिकलाई सीप दिने योजना बनाएको बताउँदै त्यस्तो योजनालाई यसप्रकारको निजी तालिम प्रदायक संस्थाले सहयोग पुग्ने बताउनुभयो ।(रासस)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ