सोमबार, असोज २६ गते २०८३

चुमनुब्रीमा फेरि थुनियो बूढीगण्डकी, १५ मिनेटदेखि नदीमा जलप्रवाह बन्द

चुमनुब्रीमा फेरि थुनियो बूढीगण्डकी, १५ मिनेटदेखि नदीमा जलप्रवाह बन्द

अखबार दैनिक
आइतबार, असोज २५ २०८३
  • चुमनुब्रीमा फेरि थुनियो बूढीगण्डकी, १५ मिनेटदेखि नदीमा जलप्रवाह बन्द

    गोरखा, २५ असोज। गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदी फेरि थुनिएको छ। नदीमा करिब १५ मिनेटदेखि जलप्रवाह नदेखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन्।

    सुक्खा पहिरो खसेर नदीको बहाव अवरुद्ध भएपछि यसअघि पनि बूढीगण्डकीमा आकस्मिक बाढी आएको थियो। नदी थुनिने र खुल्ने क्रम दोहोरिरहेकाले तल्लो तटीय क्षेत्रका बस्तीमा थप जोखिम बढेको छ।

    आइतबार बिहान करिब ४ बजे आएको बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। प्राप्त विवरणअनुसार पैयू र बगर गाउँका ३५ घर बगाएका छन् भने दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति भएको छ।

    बाढीले पुल, बेलिब्रिज तथा केही घरटहरासमेत बगाएको विवरण सार्वजनिक भएको छ। सोती बजारसम्म बाढी पुगेपछि नदी आसपासका बासिन्दा थप त्रसित बनेका छन्।

    नदीमा पुनः जलप्रवाह रोकिएको खबरसँगै तल्लो क्षेत्रमा सम्भावित जोखिमप्रति चिन्ता बढेको छ। नदी थुनिएर बनेको पानीको दबाब बढेमा थुनिएको भाग एक्कासि खुल्दा ठूलो बाढी आउन सक्ने भएकाले सतर्कता आवश्यक छ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले सिर्दिबास तथा धार्चे गाउँपालिकाअन्तर्गत खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

    यसअघि बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको थियो। सुरक्षा निकाय र स्थानीय प्रशासनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अवस्थाबारे जानकारी संकलन गर्ने काम गरिरहेका छन्।

    बूढीगण्डकी नदीको बहावमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    नदी फेरि थुनिएपछि बाढीको जोखिम थप गम्भीर बनेको छ। नदीमा जलप्रवाह पुनः सुरु भएको आधिकारिक जानकारी नआएसम्म तल्लो तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ