बुधबार, असोज २१ गते २०८३

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

images
अखबार दैनिक
बुधबार, असोज २१ २०८३
  • चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

    काठमाडौँ, २१ असोजः बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागू गरेको छ ।    
        
    पर्वको समयमा आमनागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यमा जाने यात्रीसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।    
        
    “चाडपर्वको मौका छोपी चोरी डकैतीे, जुवातास एवं सट्टेबाजीे, अन्तरराष्ट्रिय सीमानाकामा तस्करी र सीमा अपराध हुन सक्छन्”, उहाँले भन्नुभयो, “यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न व्यापक प्रहरी परिचालन गरिएको छ ।”    
        
    विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली नोट कारोबारलगायतलाई प्रहरीले सुरक्षा चुनौती औँल्याएको छ ।    
        
    चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब ५० हजार बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो । चार सय आठ स्थानमा यात्रु सहायता र अन्तरराष्ट्रिय सीमा–नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ ।    
        
    काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट स्थापना र त्यहाँबाट प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।    
        
    यसअवधिमा प्रहरीले पैदल, मोबाइल र ग्रामीण गस्ती गर्नेछन् । चेकप्वाइन्ट तथा ट्राफिक प्रहरीसहितको चेकजाँचको व्यवस्था मिलाइएको छ भने सरकारी एवं महत्त्वपूर्ण संस्थाहरू, कारागारलगायत कार्यालयको सुरक्षाको व्यवस्था मजबुत पारिएको छ ।    
        
    प्रविधि र सूचनामा आधारित सुरक्षा    
        
    प्रहरीले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन, सिसीटिभी, ‘बडीवन’ क्यामरालगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने भएको छ । काठमाडौँ उपत्यकालगायत प्रमुख सहरको मुख्य बजार तथा सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय एवं ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसामा शून्य सहनशीलताको रणनीति अपनाइएको छ ।    
        
    दुर्घटना न्यूनीकरणको विशेष योजना    
        
    चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने अनुमान गरिएको छ । सवारी दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) जाँच तथा लामो दूरीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने प्रहरीले जनाएको छ ।    
        
    “सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सबै सवारीसाधनले सात दिनअघिको ‘मेकानिकल टेस्ट रिपोर्ट’ पेस गर्नुपर्नेछ”, प्रवक्ता काफ्लेले भन्नुभयो । प्रहरीले नेपालमा पहिलो पटक मेकानिकल टेस्ट रिपोर्ट अनिवार्य गर्न लागेको हो ।    
        
    काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनमा यात्रुलाई दुःख दिने, हैरानी दिने, टिकट महँगोमा बिक्री गर्ने, कालोबजारी गर्ने, सिट नभएको टिकट जारी गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रहरीले लक्ष्य लिएको छ । चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन, दुर्घटना न्यूनीकरण गर्नेमा प्रहरीको ध्यान केन्द्रित भएको प्रवक्ता काफ्लेले बताउनुभयो ।    
        
    “चाडपर्वको बेलामा बढ्न सक्ने दुर्घटना कमी ल्याउन मातहतको निकायलाई निर्देशन भइसकेको छ”, उहाँले भन्नुभयो, “यो चाडपर्वमा विगतको भन्दा अझ शान्त, सुरक्षित, मर्यादित, व्यवस्थित र भरपर्दो सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।”    
        
    प्रहरीले सुरक्षा व्यवस्थालाई कार्यसम्पादनसँग जोडेर हेरेको छ । “जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी कार्यालयको प्रमुखको कार्यसम्पादन सुरक्षा व्यवस्थासँग जोडेर हेरिएको छ”, उहाँले भन्नुभयो ।    
        
    सम्भावित विपद्सँग जुध्न विशेष टोली तैनाथ    
        
    चाडपर्वको समयमा आउनसक्ने विपद्का विभिन्न घटनासँग जुध्न प्रहरीले विशेष टोली तैनाथ गरेको छ । विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ सै घण्टा उद्धार, खोज, राहत तथा सुरक्षा व्यवस्थाका लागि तैनाथी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ