बुधबार, असोज २१ गते २०८३

म्याग्दीमा सडक कटानसँगै दुखुबेसी गाउँ जोखिममा

म्याग्दीमा सडक कटानसँगै दुखुबेसी गाउँ जोखिममा

images
अखबार दैनिक
बुधबार, असोज २१ २०८३
  • म्याग्दीमा सडक कटानसँगै दुखुबेसी गाउँ जोखिममा

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गरेपछि करिब १४० घरपरिवारको बसोबास रहेको दुखुबेसी गाउँ जोखिममा परेको छ। असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि आएको बाढीले बालौटेमा सडकको करिब १०० मिटर भाग पूर्णरूपमा भत्काएको हो।

    अर्मनखोलामा आएको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराएपछि नदीले सडकतर्फ कटान गरेको स्थानीयको भनाइ छ। सडक भत्किएसँगै त्यस क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ। स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै थप कटान भए बस्तीसमेत जोखिममा पर्ने अवस्था देखिएको छ।

    हाल तत्कालका लागि वैकल्पिक सडक सञ्चालनमा ल्याइए पनि वर्षायाममा पुनः समस्या आउन सक्ने भएकाले दीर्घकालीन समाधान आवश्यक देखिएको छ। सडक पुनर्निर्माणसँगै नदीको कटान नियन्त्रण र बस्ती संरक्षणका लागि संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

    समस्या समाधानका लागि प्रदेशसभा सदस्य रेशम जुग्जालीसहितको टोलीले बालौटे क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा सडक पुनर्निर्माण, नदी नियन्त्रण तथा दुखुबेसी बस्तीलाई सुरक्षित बनाउने विषयमा छलफल गरिएको छ।

    सम्बन्धित निकायले दसैँअघि नै यातायात सञ्चालन गर्ने गरी सडक मर्मतको काम अघि बढाउने तयारी गरेको छ। साथै आगामी वर्षायाम सुरु हुनुअघि नै म्याग्दी नदीको कटान नियन्त्रण तथा बस्ती संरक्षणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    स्थानीयका अनुसार तत्काल सडक सञ्चालनसँगै नदी नियन्त्रणका लागि प्रभावकारी संरचना निर्माण गर्न नसके आगामी वर्षामा अझ ठूलो क्षति हुन सक्ने जोखिम छ। त्यसैले सडक पुनर्निर्माणलाई मात्र नभई दुखुबेसी गाउँको दीर्घकालीन सुरक्षालाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ