सोमबार, असोज १९ गते २०८३

सीप सिकाउँदै, उद्यमी बनाइँदै

सीप सिकाउँदै, उद्यमी बनाइँदै

अखबार दैनिक
सोमबार, असोज १९ २०८३
  • सीप सिकाउँदै, उद्यमी बनाइँदै

    दमौली (तनहुँ), १९ असोजः एकीकृत सेवा कार्यालय तनहुँले स्थानीय नागरिकलाई सीपमूलक तालिम प्रदान गर्दै रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनमा जोड दिएको छ । कार्यालयले विभिन्न समूहका नागरिकलाई लक्षित गरी अचार बनाउने, कफी बनाउने तथा ढाका बुनाइसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरेको हो ।    
        
    जिल्लास्थित एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले सीप विकासका कार्यक्रममार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकलाई स्वरोजगार बन्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालयले विभिन्न सीपमूलक कार्यक्रमका लागि रु १५ लाख खर्च गरेको छ । विशेषगरी महिला तथा युवालाई सीप सिकाएर आयआर्जनमा जोड्ने प्रयास गरिएको उहाँको भनाइ छ ।    

    आँबुखैरेनी गाउँपालिका-४ का ३० महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई प्रशोधन गरी आयआर्जनको माध्यम बनाउन सकिने भएकाले अचार बनाउने सीप प्रदान गरिएको थापाले बताउनुभयो ।    
        
    तालिममा विभिन्न प्रकारका अचार बनाउने तरिका, आवश्यक कच्चा पदार्थको छनोट, सरसफाइ, उत्पादन विधि, भण्डारण तथा बजारीकरणलगायत विषयमा सहभागीलाई सीप प्रदान गरिएको थियो । स्थानीयस्तरमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपजलाई प्रशोधन गरेर लामो समयसम्म उपयोग गर्न सकिने उत्पादनमा परिणत गर्न सके कृषक तथा महिलाले थप आम्दानी गर्न सक्ने भएकाले अचार बनाउने तालिमलाई उपयोगी मानिएको छ ।    
        
    तालिमपछि सहभागी महिलालाई घरमै सानो लगानीबाट अचार उत्पादन सुरु गरी स्वरोजगार बन्न सक्ने आधार तयार भएको प्रशासकीय अधिकृत थापाले उल्लेख गर्नुभयो । कार्यालयले शुक्लागण्डकी नगरपालिका-११ का २५ जनालाई १५ दिने बरिस्ता तालिमसमेत प्रदान गरेको छ । कफी तथा पेय पदार्थ बनाउने क्षेत्रमा रोजगारीको सम्भावना बढ्दै गएकाले युवालाई लक्षित गरी बरिस्ता तालिम सञ्चालन गरिएको हो ।    
        
    तालिममा कफी बनाउने आधारभूत सीप, विभिन्न प्रकारका कफी तयार गर्ने तरिका, उपकरण सञ्चालन, सरसफाइ तथा ग्राहक सेवासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको कार्यालयले जनाएको छ । तालिमबाट होटल, रेस्टुरेन्ट तथा कफी पसलमा रोजगारीका लागि आवश्यक आधारभूत सीप प्राप्त गर्नुका साथै आफ्नै व्यवसाय सञ्चालन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।    
        
    परम्परागत सीप तथा घरेलु उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यालयले दुई पटक गरी २१ जनालाई दुई महिने आधारभूत ढाका बुनाइ तालिम प्रदान गरेको छ । ढाका कपडाको उत्पादन तथा बजारीकरणलाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीलाई ढाका बुनाइको आधारभूत सीप सिकाइएको हो ।    
        
     सीपसँगै प्रविधि हस्तान्तरण    
        
    कार्यालयले तालिम सञ्चालनसँगै सञ्चालनमा रहेका उद्योगको प्रवर्द्धनका लागि उद्यमीलाई साझेदारीमा प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाएको छ । कार्यक्रमअन्तर्गत १२ महिला र तीन पुरुष उद्यमीलाई आवश्यक प्रविधि तथा उपकरण सहयोग गरिएको प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।    
        
    सञ्चालित उद्योगलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराउँदा उत्पादन क्षमता वृद्धि हुने, लागत घट्ने तथा बजारमा प्रतिस्पर्धा गर्न सहज हुने कार्यालयको अपेक्षा छ ।    
        
    स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन र जनशक्तिलाई परिचालन गरी साना तथा घरेलु उद्योग स्थापना गर्न सके रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न सकिने विश्वास गरिएको छ । “सीप सिकाएर मात्र पुग्दैन, सिकेको सीपलाई उत्पादन र आम्दानीसँग जोड्न आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसैले तालिमसँगै प्रविधि तथा उपकरण सहयोगमार्फत उद्यमीलाई व्यवसाय सञ्चालनमा थप सहजता पुर्‍याउने प्रयास गरिएको छ ।” 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ