शनिबार, असोज १७ गते २०८३

बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण

बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण

अखबार दैनिक
बुधबार, असोज १४ २०८३
  • बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण

    बाजुरा, १४ असोजः बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । अविरल वर्षाका कारण घर, खेतबारी र दैनिक जनजीवन प्रभावित बनेका परिवारलाई खाद्यान्न, गैरखाद्य तथा सरसफाइ सामग्री उपलब्ध गराइएको हो ।    
        
    ‘पश्चिम नेपालमा बाढी तथा पहिरो आपत्कालीन प्रतिकार्य परियोजना–२०२६’ अन्तर्गत बडीमालिका फाउन्डेसन नेपालको समन्वयमा राहत वितरण गरिएको हो । राहत सामग्रीमा चामल, दाल, नुन, खानेतेल, म्याट्रेस, ब्ल्याङ्क्वेट, सोलार बत्ती, न्यानो कपडा तथा साबुन, बाल्टिनलगायत सरसफाइ सामग्री समावेश गरिएको थियो । विशेषगरी वर्षायामपछि विस्थापित तथा घरमा क्षति पुगेका परिवारलाई प्राथमिकताका आधारमा सामग्री वितरण गरिएको छ ।    
        
    बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले यस वर्षको वर्षायाममा जिल्लामा मानवीय क्षति न्यून रहे पनि सडक, खानेपानी, सिँचाइ, घर तथा सार्वजनिक संरचनामा ठूलो भौतिक क्षति पुगेको बताउनुभयो । गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बाढीपहिरोका कारण गाउँपालिकाका विभिन्न वडामा दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारीमा क्षति पुगेको बताउँदै तत्काल राहत उपलब्ध गराउने संस्थाहरूले पीडित परिवारलाई ठूलो राहत महसुस गराएको बताउनुभयो ।    
        
    नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष तथा बडीमालिका फाउन्डेसन नेपालका उपाध्यक्ष पदमबहादुर सिंहले जिल्लामा विपद् पर्दा विभिन्न संस्थासँग समन्वय गर्दै प्रभावित समुदायसम्म सहयोग पुर्याउने प्रयास निरन्तर भइरहेको बताउनुभयो ।    
        
    कारितास नेपालका प्रदेश कार्यक्रम अधिकृत ऋषि शर्माका अनुसार बडीमालिका नगरपालिकाका ६७, त्रिवेणी नगरपालिकाका ४५ र गौमुल गाउँपालिकाका ४६ गरी कुल १५८ प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।    
        
    स्थानीय तहसँगको समन्वयमा राहत वितरण अभियान असोज ९ गते त्रिवेणी नगरपालिका–९ ताम्सुबाट सुरु गरिएको थियो । त्यसपछि असोज ११ गते बडीमालिका नगरपालिका र असोज १२ गते गौमुल गाउँपालिकामा वितरण कार्यक्रम सम्पन्न गरिएको हो । यस वर्षको मनसुनमा लगातारको वर्षापछि बाजुराका विभिन्न बस्तीमा पहिरो खस्दा घर जोखिममा परेका, खेतबारी बगेका तथा खाद्यान्न अभाव झेलिरहेका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको थियो ।    
        
    गत साउन २८ गते राति अविरल वर्षासँगै आएको पहिरोले त्रिवेणी नगरपालिका–९ ताम्सुमा घर पुरिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए भने हाल पूरै गाउँ नै उच्च जोखिममा रहेको छ । गौमुल –३ काटीगाउँलगायत अन्य वडामा गत भदौ ४ गते अविरल वर्षापछि पहिराले दर्जनाँै घरपरिवार विस्थापित भएका थिए । यस्तै भदौ १९ र २० गते अविरल वर्षासँगै आएको बाढीपहिराले बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा घर तथा खेतबारीमा क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ