आइतबार, असोज ११ गते २०८३

गाजा युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघ्यो

गाजा युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघ्यो

अखबार दैनिक
आइतबार, असोज ११ २०८३
  • गाजा युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघ्यो

    जेरुसेलम, ११ असोज  गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबीच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघेको छ ।    
        
    गत अक्टोबर १० देखि लागू भएको युद्धविरामले भीषण लडाइँ रोकेको भए पनि इजरायली सेनाले सम्भावित खतरा वा आक्रमणको जवाफस्वरूप भन्दै आफ्ना सैन्य कारबाही जारी राखेको जनाएको छ   
        
    गाजा युद्धविराम प्रक्रिया अझै ठप्प  गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार युद्धमा हालसम्म ७४ हजार १६ प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक लाख ७५ हजार ६८ जना घाइते भएका छन् ।    
        
    यो युद्ध सन् २०२३ को अक्टोबर ७ मा हमास नेतृत्वका लडाकुहरूले इजरायलमा आक्रमण गरेपछि सुरु भएको थियो । उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।    
        
    हमास नेतृत्वको सरकारअन्तर्गत रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार युद्धविराम लागू भएयता थप एक हजार १४५ प्यालेस्टाइनी मारिएका छन् । मन्त्रालयले सार्वजनिक गर्ने तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घका निकाय र अन्तरराष्ट्रिय संस्थाहरूले सामान्यतः विश्वसनीय मान्दै आएका छन् । यद्यपि मन्त्रालयले सर्वसाधारण र लडाकुबीच छुट्टै विवरण सार्वजनिक गर्दैन । मन्त्रालयकाअनुसार कुल मृतकमध्ये करिब आधा महिला र बालबालिका छन् ।    
        
    युद्धविरामपछि सात जना इजरायली सैनिकको पनि मृत्यु भएको छ । अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामका अन्य पक्ष भने अझै कार्यान्वयन हुन सकेका छैनन् । इजरायली सेनाले हाल पनि प्यालेस्टाइनी भू–भागको आधाभन्दा बढी क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ । हमासले हतियार त्यागेको छैन, नयाँ प्यालेस्टाइनी सरकार गठन हुन सकेको छैन र पुनर्निर्माणको कामसमेत सुरु भएको छैन ।    
        
    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले हतियार नबुझाएसम्म इजरायली सेना पछि नहट्ने बताउनुभएको छ ।    
        
    नेतान्याहुलाई पराजित गर्न विपक्षी दलहरूको सहकार्य    
        
    इजरायलका प्रमुख यहुदी विपक्षी दलहरूले शनिबार साँझ जारी गरेको संयुक्त विज्ञप्तिमार्फत अर्को महिना हुने निर्णायक निर्वाचनमा प्रधानमन्त्री नेतान्याहुको गठबन्धनलाई पराजित गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आन्तरिक विवादका कारण यी दलहरू यसअघि आलोचित हुँदै आएका थिए ।    
        
    सन् २०२३ को अक्टोबर ७ को आक्रमणपछि हुन लागेको पहिलो निर्वाचनलाई उक्त आक्रमण हुन पुग्नुका सुरक्षा कमजोरीप्रतिको जनमतका रूपमा व्यापक रूपमा हेरिएको छ ।    
        
    बैठकमा नेतान्याहुका प्रमुख चुनौतीकर्ता मानिएका पूर्वसैन्य प्रमुख गादी आइजेनकोट, संयुक्त रूपमा चुनाव लडिरहेका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट र याइर लापिड, मध्य–वामपन्थी दलका नेता याइर गोलान तथा कडा अडान राख्ने विपक्षी नेता एभिग्डोर लिबरम्यान सहभागी थिए ।    
        
    उनीहरूले मतदाता सहभागिता बढाउने, भ्रामक समाचार र चरित्रहत्या गर्ने अभियानको सामना गर्ने तथा आगामी सरकारका आधारभूत नीति र सिद्धान्त तय गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।    
        
     “यी निर्वाचनहरू राज्यको भविष्यका लागि अत्यन्त महत्वपूर्ण छन् भन्ने हामी स्वीकार गर्छौं”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ