शुक्रबार, असोज ९ गते २०८३

देशभर वर्षा कायमै, गण्डकी–लुम्बिनीमा भारी वर्षाको सम्भावना

देशभर वर्षा कायमै, गण्डकी–लुम्बिनीमा भारी वर्षाको सम्भावना

अखबार दैनिक
शुक्रबार, असोज ९ २०८३
  • देशभर वर्षा कायमै, गण्डकी–लुम्बिनीमा भारी वर्षाको सम्भावना

    काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा निरन्तर वर्षा भइरहेको छ। बुधबारदेखि सुरु भएको वर्षा आज र भोलिसम्म पनि जारी रहने मौसमविद्हरूले बताएका छन्।

    मौसम पूर्वानुमानअनुसार आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। तर तत्काल वर्षा रोकिने अवस्था नरहेकाले बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ। सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

    देशका विभिन्न पहाडी तथा तराई भूभागमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा बढी केन्द्रित हुने मौसमविद्हरूको पूर्वानुमान छ। लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

    मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने तथा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज बिहानदेखि गण्डकीको अधिकांश भूभाग र लुम्बिनीको महाभारत क्षेत्रदेखि तल्लो भूभागमा वर्षा बढी केन्द्रित हुन सक्नेछ। कोशी क्षेत्रमा भने वर्षाको तीव्रता केही कम हुने अनुमान गरिएको छ।

    निरन्तर वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। मौसमविद्हरूले आज र भोलि लामो दूरीको यात्रा सकेसम्म नगर्न समेत सुझाव दिएका छन्।

    पछिल्लो २४ घण्टामा इलामको कन्याममा सबैभन्दा बढी ११४ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै इलामको जितपुरमा ९१, काभ्रेको रोशीमा ९७.८, पाल्पाको अर्चलेमा ९३.८ र सोलुखुम्बुको पाख्रिबासमा ८५.२ मिलिमिटर वर्षा मापन भएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ