भद्रपुर (झापा) , ८ असोजः झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा बुुधबार भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिइयो । सेवा कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने तथा लक्षित वर्गको पहिचानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार जिल्लामा अस्पतालको स्वीकृत श्यया सङ्ख्याको १० प्रतिशत श्यया गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्गका लागि छुट्याएर निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निःशुल्क स्वास्थ्य सेवा वास्तविक लक्षित वर्गसम्म सहज रूपमा पुर्याउने र सेवा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने उद्देश्यले छलफल आयोजना गरिएको बताउनुभयो । “सरकारले तोकेको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सबैको दायित्व हो । यसबाट संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनमा सहयोग पुग्नाका साथै नागरिकको अधिकार संस्थागत हुन थप टेवा पुग्ने छ,” उहाँले भन्नुभयो, “लक्षित वर्गले सहज रूपमा सेवा पाउने वातावरण बनाउन स्थानीय तह, अस्पताल र प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक छ ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार झापामा रहेका ४० वटा निजी अस्पतालमध्ये हालसम्म १७ वटा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको ‘निःशुल्क स्वास्थ्य पोर्टल’मा आबद्ध भएका छन् । बाँकी अस्पताललाई पोर्टलमा आबद्ध हुन छलफलबाट प्रतिबद्ध गराइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा झापाका निजी अस्पतालबाट आंशिक रूपमा तीन हजार ६०४ जनाले निःशुल्क सेवा लिएका छन् । ती सेवाको मूल्य रु २७ लाख २५ हजार ९७६ रहेको छ ।
यस्तै, पूर्ण रूपमा निःशुल्क सेवा लिने १५८ जनाको उपचारमा रु चार लाख सात हजार ९३० खर्च भएको उहाँले जानकारी दिनुभयो ।
निःशुल्क स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्लाका सबै अस्पतालले एक–एक जना ‘फोकल पर्सन’ तोकी त्यसको जानकारी जिल्ला स्वास्थ्य कार्यालयलाई गराउने निर्णय भएको छ । जिल्लास्तरीय फोकल पर्सनका रूपमा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठलाई तोकिएको छ ।
कार्यविधिअनुसार निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई सःशुल्क श्ययामा उपचाररत बिरामीसरह कुनै भेदभाव नगरी अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । शय्या, चिकित्सकको परामर्श, शल्यक्रिया, प्रयोगशाला तथा अन्य परीक्षण, उपचारमा आवश्यक औषधिलगायत कुनै पनि सेवामा शुल्क लिन पाइने छैन ।
छलफलमा निजी अस्पताल सञ्चालकले कतिपय स्थानीय तहले आर्थिक रूपमा सक्षम व्यक्तिलाई पनि निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरेको गुनासो गरेका थिए । उनीहरूले वास्तविक विपन्न तथा लक्षित वर्गका व्यक्तिको मात्रै सिफारिस भएर आएमा १० प्रतिशत निःशुल्क सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले वास्तविक लक्षित वर्गको पहिचान गरेर मात्रै सिफारिस गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिवलाई अभिमुखीकरण गरिसकिएको जानकारी दिनुभयो । गलत वा फर्जी सिफारिस गरिएको प्रमाणित भएमा सम्बन्धितलाई कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस