सियोल, ६ असोज उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार प्रणालीको परीक्षण निरीक्षण गर्दै त्यसलाई देशको उन्नत सैन्य प्रविधिको प्रमाण भएको बताउनुभएको छ । दक्षिण कोरिया र जापानले प्योङयाङबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जनाएको दुई दिनपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षणको विवरण सार्वजनिक गरेको हो ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार मिसाइल ब्युरोले आइतबार किमको उपस्थितिमा नयाँ हतियारको सफल परीक्षण गरेको थियो । परीक्षण गरिएको हतियारको प्रकार भने प्योङयाङले खुलाएको छैन । किमले उक्त परीक्षणलाई ‘अत्याधुनिक रक्षा प्रविधिको उल्लेखनीय प्रदर्शन’ भन्दै यस्तो प्रविधिले विरोधीलाई गम्भीर चुनौती दिने बताउनुभएको छ ।
केसीएनएका अनुसार किमले नयाँ सैन्य प्रविधि हासिल गर्नु देशको युद्ध तयारी र सशस्त्र सेनाको भावी विकासका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । यसअघि उत्तर कोरियाले पूर्वी सागरतर्फ छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै त्यसलाई संयुक्त फायरपावर अभ्यासका रूपमा प्रस्तुत गरेको थियो ।
दक्षिण कोरिया र जापानले पछिल्लो क्षेप्यास्त्र प्रहारलाई क्षेत्रीय शान्ति तथा सुरक्षाका लागि खतरा भन्दै निन्दा गरेका छन् । सियोलले त्यसलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको उल्लङ्घन भन्दै क्षेप्यास्त्र गतिविधि रोक्न आग्रह गरेको छ भने जापानले पनि कडा विरोध जनाएको छ ।
उत्तर कोरियाले आफ्नो आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताउँदै आएको छ । गत साता उसले आफ्ना आणविक गतिविधि रोक्न माग गर्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले पारित गरेको प्रस्ताव अस्वीकार गर्दै त्यस्तो प्रस्तावले आफ्नो आणविक हैसियतमा कुनै प्रभाव नपार्ने बताएको थियो । किमकी बहिनी किम यो जोङले पनि हालै उत्तर कोरियाको आणविक हैसियत ‘निरपेक्ष’ रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस