६ असोज, काठमाडौं । संघीय संसद्को नयाँ भवनमा सञ्चालनमा रहेको अस्थायी क्यान्टिन बुधबारदेखि बन्द गरिएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद् भवनभित्रको क्यान्टिनमा चिया, मम र चाउमिनलगायतका खाद्य सामग्रीको मूल्य महँगो भएको भन्दै प्रश्न उठाएका थिए ।
उनले संसद् भवनको बरण्डामा राखिएको क्यान्टिनलाई ‘फाइभ स्टार होटल’को संज्ञा दिँदै त्यहाँका सामग्रीको मूल्यबारे प्रश्न गरेका थिए । उनका अनुसार कालो चिया १ सय रुपैयाँ, दूध चिया २ सय रुपैयाँ, मम ३ सय रुपैयाँ, चाउमिन ४ सय रुपैयाँ र पाउरोटी ५ सय रुपैयाँ पर्ने दाबी गरिएको थियो ।
सांसद सुनारले संसद् भवनको बरण्डाबाट उक्त संरचना हटाउनुपर्ने मागसमेत गरेका थिए ।
त्यसको भोलिपल्ट नयाँ भवनमा अस्थायी रूपमा राखिएको क्यान्टिन बन्द गरिएको हो । क्यान्टिनका कर्मचारी राजकाजी महर्जनका अनुसार अस्थायी संरचनामा रहेको क्यान्टिन व्यवस्थापनको निर्णयअनुसार बन्द गरिएको हो ।
महर्जनले भने, ‘सिनियर म्यानेजमेन्टले गरेको निर्णय हो । अस्थायी रूपमा राखिएको ठाउँको क्यान्टिन आज खुला छैन । साविकको ठाउँबाट सेवा भइरहेको छ ।’
उनका अनुसार सिंहदरबारभित्र सञ्चालन हुँदै आएको क्यान्टिन भने बन्द गरिएको छैन । नयाँ भवनमा अस्थायी रूपमा सञ्चालन गरिएको क्यान्टिन मात्रै बन्द गरिएको हो ।
सांसद सुनारले बैठकमा उठाएको मूल्यसम्बन्धी विषयमा पनि महर्जनले आपत्ति जनाएका छन् । उनका अनुसार क्यान्टिनमा तोकिएको मेन्यु र मूल्यभन्दा बाहिर गएर कुनै शुल्क लिइएको छैन ।
‘माननीयले जे बोल्नुभयो, त्यो उहाँको अधिकार हो । तर उहाँको भनाइमा सत्यता छैन । मेन्यु जे छ, रेटभन्दा बाहिर गएर केही गरिएको छैन,’ उनले भने ।
संसद् भवनभित्रको क्यान्टिन बन्द गरिएपछि अब उक्त अस्थायी क्यान्टिन पुनः कहिले सञ्चालनमा आउँछ भन्नेबारे सञ्चालक पक्षले स्पष्ट जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस