मंगलबार, असोज ६ गते २०८३

भारत भ्रमण उपलब्धिमूलक भएको रास्वपाको दाबी, झण्डा विवादलाई भन्यो ‘प्राविधिक विषय’

भारत भ्रमण उपलब्धिमूलक भएको रास्वपाको दाबी, झण्डा विवादलाई भन्यो ‘प्राविधिक विषय’

अखबार दैनिक
आइतबार, असोज ४ २०८३
  • भारत भ्रमण उपलब्धिमूलक भएको रास्वपाको दाबी, झण्डा विवादलाई भन्यो ‘प्राविधिक विषय’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको तीनदिने भारत भ्रमण उपलब्धिमूलक भएको जनाएको छ।

    रास्वपा प्रवक्ता जगदीश खरेलले भारत भ्रमणका क्रममा दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको बताएका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका थिए।

    भ्रमणका क्रममा वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण तथा विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी, सहकार्य तथा विपद्पछिको पुनर्निर्माणलगायत विषयमा छलफल भएको थियो।

    रास्वपाका अनुसार भारतमा भएको भेटवार्ताका क्रममा रसुवाको भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा भारतले गरेको सहयोगप्रति धन्यवादसमेत दिइएको थियो। साथै पुनर्निर्माणमा थप सहयोग र सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ।

    अर्थमन्त्री वाग्लेले भारतमा सरकारी प्रतिनिधिसँगको भेटवार्ताका अतिरिक्त आर्थिक–व्यावसायिक तथा प्राज्ञिक कार्यक्रममा समेत सहभागिता जनाएका थिए। भारतीय उद्योग परिसंघको कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए भने दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिसम्बन्धी छलफलमा सहभागी भएका थिए।

    यसैबीच, भारत भ्रमणका क्रममा एउटा तस्बिरमा नेपालको राष्ट्रिय झण्डा नदेखिएको विषयसमेत चर्चामा आएको थियो। उक्त विषयमा रास्वपाले स्पष्टीकरण दिँदै औपचारिक द्विपक्षीय वार्तामा भने नेपाल र भारत दुवै देशका राष्ट्रिय झण्डा राखिएको जनाएको छ।

    प्रवक्ता खरेलका अनुसार सामाजिक सञ्जालमा चर्चामा आएको तस्बिर औपचारिक द्विपक्षीय वार्ताको नभई भारतीय वित्तमन्त्रीको कार्यकक्षमा भएको अनौपचारिक भेटका क्रममा खिचिएको हो। त्यसैले उक्त तस्बिरलाई आधार बनाएर झण्डाको विषयलाई अनावश्यक रूपमा उचाल्न नहुने रास्वपाको भनाइ छ।

    रास्वपाले झण्डाको विषयलाई प्राविधिक विषयका रूपमा व्याख्या गर्दै भ्रमणबाट प्राप्त उपलब्धि र दुई देशबीचको सहकार्यलाई मुख्य विषय बनाउनुपर्ने जनाएको छ।

    अर्थमन्त्री वाग्ले शनिबार तीनदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनको भ्रमणका क्रममा मन्त्रीस्तरीय भेटवार्तासहित कूटनीतिक, आर्थिक–व्यावसायिक र प्राज्ञिक क्षेत्रका विभिन्न कार्यक्रम भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ