सोमबार, वैशाख ३१ गते २०८१

माधव उक्साउने, प्रचण्ड उक्सिरहने ?

माधव उक्साउने, प्रचण्ड उक्सिरहने ?

अखबार दैनिक
आइतबार, कात्तिक २३ २०७७
  • माधव उक्साउने, प्रचण्ड उक्सिरहने ?

    कात्तिक २३,

    images

    यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शीर्ष तहका पाँच नेताको मोर्चाबन्दी देखिएको छ । कोटेश्वरदेखि कालीमाटी, खुमलटारदेखि धुम्वाराहीसम्म यिनीहरुले शृंखलाबद्ध रुपमा गुटको बैठक बोलाएर ओलीलाई झुकाउने रणनीति तय गरेका छन् । शनिबार बालुवाटार प्रधानमन्त्रीलाई नै भेटेर पनि उनीहरुले ओलीलाई दबाब दिए । तर, नेकपाको विरोधी खेमामा के देखिँदै छ भने हरेक नेता एकले अर्काको काँधमा बन्दुक पड्काउने र आफू अवगालबाट सुरक्षित रहने दाउ रचेका छन् । त्यसका निम्ति एउटाले अर्कोलाई उचाल्ने, अन्ततः थचार्ने सम्भावना देखिँदै छ । यो अहिले देखिएको सम्भावना मात्र होइन, विगतका घटनाहरुले पटकपटक प्रमाणित गरेको कुरा पनि हो ।

    झट्ट हेर्दा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत गोलबन्द भएको देखिन्छ । तर, ओलीलाई कमजोर बनाउन उनीहरु एक ठाउँमा देखिए पनि आफूहरुबीचमै यिनको अविश्वास चरम सीमामा छ । एकले अर्कालाई कसले छिटो धोका दिन्छ भन्ने भय तीब्र छ । पछिल्ला घटनाक्रम हेर्दा पूर्वएमालेका दुई खेमा ओली र माधव नेपालबीचको प्रतिद्वन्द्वितामा प्रचण्ड प्रयोग मात्रै भएको देखिन्छ । प्रचण्डलाई अघि सारेर माधव नेपालले आफ्नो स्वार्थसिद्धि गरिरहेका छन् । नेपाल आफै त्यति ठूलो हिम्मत भएका नेता होइनन् । तर, प्रचण्डजस्तो दुस्सासही नेताको काँधमा बन्दुक पड्काउन पाउँदा नेपाल खुब उत्साहित भएका छन् । तर, प्रचण्डले के बुझ्नुपर्छ भने अन्ततः पार्टी फुट्ने अवस्था आएमा ओली र माधव नेपाल एक ठाउँमा उभिनेछन् । जनताको बहुदलीय जनवाद, मदन भण्डारी र सूर्य चिन्हसँगको यिनीहरुको लगाव कहीँ गएर पनि तोडिने छैन । पूर्वएमालेको यस एकताले प्रचण्ड एक्लो र निःसहाय बनेर सडकमा हिँड्नुपर्नेछ । उस्तै परे त्यतिखेर प्रचण्डसँग बुहारी बीना मगर समेत हुने छैनन् ।

    पार्टी विभाजनको पीडा सबैभन्दा राम्रोसँग एमालेकै कार्यकर्ताहरुलाई थाहा छ । त्यसैले उनीहरु मूलधार छाडेर कहीँ जानेवाला छैनन् । कार्यकर्ता तहमा मात्र होइन, धेरै सांसद र केन्द्रीय कमिटीका सदस्यहरुले विभाजनको उद्देश्य लिएर कसैले हस्ताक्षर जुटाउन खोजेमा कतै पनि सही नगर्ने अडान लिएका छन् । घनश्याम भुसाल, योगेश भट्टराई, लालबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापालगायतको एउटा ठूलो समूह यस धारमा सक्रिय छ । यसअघि पनि भुसाल र भट्टराईले तेस्रो धारको सांकेतिक अभ्यास गरेका थिए । यिनीहरुको मध्यस्थ भूमिकाकै कारण वामदेव गौतम समेत घर न घाटको अवस्थामा पुगेका छन् ।

    स्वयं प्रचण्ड र माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल पालैपालो ओलीकहाँ गएर कानेखुसी गरेको हरेकलाई थाहा छ । अझ एकले अर्कालाई प्रयोग गरेर आफ्नो स्वार्थको रोटी सेक्न खोज्ने यी कुनै पनि नेताले धोका दिन सक्नेमा हरेकलाई स्पष्ट छ । यीमध्ये एकजना बालुवाटार पुग्नेबित्तिकै अरु चार जनाको मनमा चिसो पस्छ । दुई अध्यक्ष बसेर सहमतिको प्रयास गर्दा बाँकी सबैलाई त्यो चोचोमोचो मन पर्दैन । यति कमजोर जगमा उभिएको विरोधी मोर्चा जतिखेर पनि छिन्नभिन्न हुने निश्चित छ ।

    अहिले माधव नेपालले उचाल्दै जाने र प्रचण्ड उचालिँदै जाने जुन सिलसिला चलेको छ, त्यसले अन्ततः सके दुवै जना, नभए प्रचण्ड सबभन्दा पहिला खाल्डामा पर्ने निश्चित छ । प्रचण्डले त्यति मात्र उचालिनु सुरक्षित हुन्छ, जति उनको जगले धान्छ । कमजोर जगमा टेकेर त्योभन्दा बढी उचालिन खोज्दा ढल्ने जोखिम बढी हुन्छ । अहिले त्यही भइरहेको छ । अर्काको काँध चढेर गरिने लडाइँमा आफ्नो भागमा पर्ने भनेको हार नै हो । अब प्रचण्डसँग दुईवटा विकल्प छन्, ओलीसँग साझेदारी र सहमतिमा अघि बढ्दै नेकपाको साख बढाउँदै भावी अध्यक्ष र प्रधानमन्त्रीका लागि तयारी गर्ने कि माधव नेपालको भाउँतोमा लागेर आफ्नो बचेखुचेको राजनीति पनि भष्म पार्ने, अहिले प्रचण्ड जुन बाटोमा छन्, त्यसले उनलाई विनाशतिर मात्र डोर्‍याइरहेको छ

    वर्णन मिडियामा यसै विषयमा समाचार प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ