शुक्रबार, भदौ १२ गते २०८३

सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि

सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि

अखबार दैनिक
बुधबार, भदौ १० २०८३
  • सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि

    जनकपुरधाम, १० भदौः माडरस्थित सिरहा भन्सार कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व सङ्कलमा उल्लेख्य प्रगति गरेको छ ।    
        
    कार्यालयका सूचना अधिकारी विमलकुमार श्रेष्ठका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १८ करोड छ लाख ३४ हजार राजस्व असुलीको लक्ष्य राखेकामा रु १४ करोड ९४ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । यो निर्धारित लक्ष्यको ८३ प्रतिशत हो ।    
        
    त्यसैगरी, अघिल्लो आव २०८१/८२ मा रु १२ करोड १२ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य लिएको सो कार्यालयले लक्ष्यको १२२ प्रतिशत अर्थात रु १४ करोड ८३ लाख ६१ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव २०८०/८१ मा सो कार्यालय लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । आव २०८/०८१ मा रु ११ करोड ९९ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु नौ करोड ४६ लाख आठ हजार सङ्कलन भएको थियो ।    
        
    यसरी पछिल्लो तीन आवको तथ्याङ्कले सिरहा भन्सार कार्यालय माडरमा राजस्व सङ्कलनको अवस्था समग्रमा सुधारोन्मुख रहेको देखाएको छ । विशेषगरी आव २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु कार्यालयको राजस्व परिचालनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।    
        
    कार्यालयमा दरबन्दीअनुसारको जनशक्ति नभए पनि भन्सार छली तथा चोरीपैठारी नियन्त्रण, नियमित बजार अनुगमन, मालवस्तुको यथार्थ मूल्याङ्कन तथा सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालय प्रमुख प्रमोदकुमार दासले बताउनुभयो ।    
        
    लामो समयदेखि भन्सार नाकामा क्वारेन्टाइन कार्यालय स्थापना हुन नसक्दा खाद्यान्न तथा कृषि सामानको जाँचपासमा समस्या भइरहेको प्रमुख दासको भनाइ छ । उहाँका अनुसार नाकामा क्वारेन्टाइन कार्यालय स्थापनाका लागि लामो समयदेखि पहल गर्दै आए पनि हालसम्म स्थापना हुनसकेको छैन ।    
        
    माडरनाका सिरहाको महत्त्वपूर्ण सीमावर्ती व्यापारिक नाका भएकाले यस क्षेत्रबाट हुने आयातनिर्यात तथा सीमा व्यापारको गतिविधिले भन्सार राजस्वमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । व्यापारिक कारोबारको अवस्था, आयात हुने वस्तुको परिमाण तथा मूल्य, भन्सार मूल्याङ्कन र भन्सारसम्बन्धी नीतिगत व्यवस्थाले राजस्व सङ्कलनमा प्रभाव पार्ने गरेको छ । राजस्व सङ्कलनसँगै भन्सार नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण र व्यापारिक कारोबारलाई व्यवस्थित बनाउन सके राज्यको राजस्व वृद्धि हुनुका साथै सीमावर्ती क्षेत्रमा वैधानिक व्यापारलाई समेत प्रोत्साहन हुने स्थानीयको भनाइ छ ।     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ