शुक्रबार, भदौ १२ गते २०८३

प्रधानमन्त्रीको भ्रमणबारे सचिवालय मौन, प्रशासन नै अनभिज्ञ

प्रधानमन्त्रीको भ्रमणबारे सचिवालय मौन, प्रशासन नै अनभिज्ञ

अखबार दैनिक
शुक्रबार, भदौ ५ २०८३
  • प्रधानमन्त्रीको भ्रमणबारे सचिवालय मौन, प्रशासन नै अनभिज्ञ

    ५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको काठमाडौं बाहिरको भ्रमणबारे प्रधानमन्त्रीको सचिवालयले औपचारिक सूचना सार्वजनिक नगर्ने नीति अपनाएको देखिएको छ। प्रधानमन्त्री कहाँ जाँदैछन्, को–कोसँग भेट गर्दैछन् र कहाँ बस्दैछन् भन्ने विषयमा सचिवालयले सार्वजनिक जानकारी नदिँदा स्थानीय प्रशासनसमेत अन्योलमा परेको छ।

    प्रधानमन्त्री शाह शुक्रबार बिहान स्थलमार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका थिए। पोखरा हुँदै मुस्ताङ जाने तयारीबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भए पनि प्रधानमन्त्रीको सचिवालयले उनको भ्रमण तालिका तथा पोखरामा हुने कार्यक्रमबारे कुनै औपचारिक जानकारी दिएको छैन।

    सचिवालयका एक सदस्यले सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री स्थलमार्ग वा हवाईमार्गबाट पोखरा गएको हो भन्ने जानकारीसमेत दिन नमिल्ने बताए। तर, केही समयपछि धादिङमा प्रधानमन्त्रीसँगै सुरक्षाकर्मीका सवारीसाधनको लस्कर देखिएको भिडियो सार्वजनिक भएको थियो।

    स्थानीय प्रशासनलाई समेत औपचारिक जानकारी छैन

    प्रधानमन्त्रीको पोखरा र मुस्ताङ भ्रमणबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत औपचारिक जानकारी नदिइएको पाइएको छ।

    मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री भ्रमणमा आउने कुरा सञ्चारमाध्यमबाट मात्र थाहा पाएको बताइन्। उनका अनुसार भ्रमणको औपचारिक जानकारी र कार्यक्रम तालिका प्रशासनमा आइपुगेको छैन।

    त्यस्तै, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पनि प्रधानमन्त्री पोखरा आउने विषयमा आफूहरूले सञ्चारमाध्यमबाटै जानकारी पाएको बताए। स्थलमार्गबाट आउने भन्ने जानकारी पाए पनि अन्य कार्यक्रमबारे औपचारिक विवरण प्राप्त नभएको उनको भनाइ छ।

    प्रधानमन्त्री बस्ने स्थान पनि गोप्य

    प्रधानमन्त्री शाहको पोखरा बसाइका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–स्थित धिताल अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज बुक गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार इको भिलेजका सबै कोठा बुक गरिएको छ।

    तर, प्रधानमन्त्रीको भ्रमणसँग जोडिएको सुरक्षा व्यवस्थापन गर्ने स्थानीय सुरक्षा संयन्त्रले समेत यसबारे औपचारिक जानकारी नपाएको बताइएको छ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका क्रममा चितवनमा प्रधानमन्त्री शाह तीन दिन बसेका थिए। त्यसबेला पनि प्रधानमन्त्रीको सचिवालयले उनको बसाइको स्थान सार्वजनिक गरेको थिएन। उनी कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेञ्चुरी रिसोर्टमा बसेका थिए, जहाँ १६ वटा कोठा बुक गरिएको थियो।

    अघिल्ला सरकारभन्दा फरक शैली

    यसअघिका प्रधानमन्त्रीका देशभित्रका भ्रमण, कार्यक्रम र सार्वजनिक भेटघाटबारे प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट सञ्चारमाध्यमलाई सामान्य जानकारी दिने अभ्यास थियो। तर, प्रधानमन्त्री शाहको सचिवालयले पछिल्लो समय भ्रमणसँग सम्बन्धित यस्ता सूचनासमेत सार्वजनिक नगर्ने शैली अपनाएको देखिन्छ।

    सुरक्षाको संवेदनशीलता भएका विषयमा विवरण सीमित गर्नु स्वाभाविक भए पनि सार्वजनिक सरोकारका भ्रमण, कार्यक्रम र त्यसको उद्देश्यबारे आवश्यक सूचना नै उपलब्ध नहुँदा सरकारको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ