कार्तिक ७,
नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट कूटनीतिक मर्यादाविपरीत र आपत्तिजनक भएको बताएका छन् । सत्तारुढ दलकै नेता रावलले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गरेकोमा सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ ।’