शनिबार, जेठ ५ गते २०८१

आइपिएलमा आइतबार राति मुम्बईमाथि पञ्जावको रोमाञ्चक जित

आइपिएलमा आइतबार राति मुम्बईमाथि पञ्जावको रोमाञ्चक जित

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • आइपिएलमा आइतबार राति मुम्बईमाथि पञ्जावको रोमाञ्चक जित

    ३ कात्तिक, काठमाण्डौं । आइपिएलमा आइतबार राति मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जावबीच भएको खेल दुई पटक सुपर ओभरमा पुग्यो। सुरुमा स्कोर बराबरी भएपछि भएको सुपर ओभरमा पनि फेरि स्कोर बराबरी भएको थियो। दोस्रो सुपर ओभरमा भने पञ्जाव विजयी भयो। 

    images

    पहिलो ब्याटिङ गरेको मुम्बई इन्डियन्सले ६ विकेटको क्षतिमा १७६ रन जोड्यो। जवाफी ब्याटिङ गरेको पञ्जावले पनि २० ओभरमा ६ विकेट गुमाएर १७६ रन नै बटुल्यो। 

    त्यसपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको पञ्जावले ५ रन जोडेको थियो। जवाफमा मुम्बई पनि ५ रनमै समेटिएपछि सुपर ‌ओभर बराबरी भएको थियो। 

    दोस्रो सुपर ओभरमा मुम्बईले पहिले ब्याटिङ गर्‍यो। मुम्बईका केइरन पोलार्ड र हार्दिक पाण्ड्याले ब्याटिङ गर्दा पञ्जावका क्रिस जोर्डनले बलिङ गरेका थिए। जसमा मुम्बईले १ विकेटको क्षतिमा ११ रन जोड्यो। 

     

    १२ रनको लक्ष्य पछ्याएको पञ्जावका लागि क्रिस गेल र मयंक अग्रवालले ब्याटिङ गरेका थिए। मुम्बईका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। जसमा गेलले पहिलो बलमा छक्का हिर्काउँदा दोस्रो बलमा एक रन लिए। तेस्रो  र चौथो बलमा अग्रवालले लगातार चौका हिर्काउँदै पञ्जावलाई रोमाञ्चक जित दिलाए। 

    त्यसअघि १७७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पञ्जावलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो। ब्याटिङमा पञ्जावका क्रिस जोर्डन र दीपक हूडा थिए। हुडा र जोर्डनले पहिलो पाँच बलमा ७ रन जोडेका थिए। अन्तिम बलमा जितका लागि २ रन चाहिएको थियो भने एक १ रन जोडेको अवस्थामा स्कोर बराबरी हुने स्थिति थियो। जसमा जोर्डनले १ रन लिन सके। दुई रन लिने क्रममा जोर्डन रनआउट भएपछि स्कोर बराबरी भएको थियो। 

    स्कोर बराबरी हुनुअघि पञ्जावका लागि कप्तान केएल राहुलले ७७ रनो योगदान दिए। उनले ५१ बलमा ७ चौका र ३ छक्का हिर्काए। क्रिस गेल र निकोलास पूरनले २४-२४ रन जोडे। दीपक हूडा २३ रनमा नटआउट रहदा जोर्डन १३ बलमा रनआउट भए। 

    बलिङमा मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए। उनले चार ओभरमा २३ रन खर्चिएका थिए। दीपक चाहरको नाममा २ विकेट रह्यो। 

    टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि क्वान्टन डी ककले ५३ रनको योगदान दिए। क्रुनाल पाण्ड्याले ३४ रन बटुल्दा केइरान पोलार्डले पनि नटआउट ३४ रन जोडे। पोलार्डले १२ बलमा १ चौका र ४ छक्का हिर्काएका थिए। यस्तै कल्टर निलको नटआउट २४ रन पनि महत्वपूर्ण रह्यो। 

    बलिङमा पञ्जावका मोहमद सामी र अर्शदीप सिंहले २-२ विकेट लिए। 

    त्यसअघि दिनको पहिलो खेलमा कोलकता र हैदरावादबीचको खेलमा पनि स्कोर बराबरी भएको थियो। त्यसपछि भएको सुपर ओभरमा कोलकता विजयी भयो। 

    सुपर ‌ओभरमा पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। दोस्रो स्थानमा रहेको मुम्बईको ९ खेलबाट १२ अंक छ। शीर्ष स्थानको दिल्लीको समान खेलबाट १४ अंक छ। सुपर ओभरमा विजयी भएसँगै पञ्जाव ९ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। 

    आइपिएलमा सोमबार चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार