सोमबार, जेठ ७ गते २०८१

बलात्कारपछि आत्महत्याका गर्न बाध्य पार्नेलाई छाड्न जिल्ला अदालतको आदेश

बलात्कारपछि आत्महत्याका गर्न बाध्य पार्नेलाई छाड्न जिल्ला अदालतको आदेश

अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • बलात्कारपछि आत्महत्याका गर्न  बाध्य पार्नेलाई छाड्न जिल्ला अदालतको आदेश

    असोज २८,

    images

    सप्तरी जिल्ला अदालतले सामूहिक बलात्कारका दुई आरोपितलाई मङ्गलबार बालसुधार गृह पठाएको छ भने पीडित बालिकालाई आत्महत्याका लागि बाध्य पार्ने पञ्चलाई धरौटीमा रिहा गरेको छ ।

    जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा १७ र १६ वर्षीय दुई आरोपितलाई पुर्पक्षका लागि बाल सुधार गृह वीरगञ्ज पठाउने आदेश भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

    आत्महत्या दुरुत्साहन मुद्दामा पञ्च डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका जयकान्त मण्डल, बासुदेव मण्डल र सत्यनारायण मण्डल पुर्पक्षका लागि धरौटी राखी रिहा भएका हुन् । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तीनजना पञ्चहरुले जनही १ लाख १० हजार धरौटी राखेका छन् ।

    पञ्चमाथि पीडित परिवारलाई बलात्कारको उजूरी गर्न रोक लगाएर आत्महत्या गर्न बाध्य पारेको आरोप छ। पीडित परिवारका अनुसार पञ्चले पीडितको अस्मिताको मूल्य ५५ हजार तोक्दै आरोपितविरुद्ध उजूरी गरे जातबाट निकाल्ने भन्दै धम्क्याएका थिए । पुरुषहरुको भेलामा बलात्कारका आरोपितकै अगाडि पीडितलाई अपमान गरी पञ्चले व्यङ्ग्य गरेपछि मानसिक तनावमा परेकी पीडितले राति आत्महत्या गरेको उनकी आमाले बताइन् ।

    तीनजना पञ्च भदौ ३० गते र दुई बलात्कार आरोपित भदौ ३१ गते पक्राउ परेका थिए । गएको भदौ २९ गते बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडितमाथि १७ र १६ वर्षीय बालकसहित डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डलले बलात्कार गरेको उजूरीमा उल्लेख छ । यस्तै सामूहिक बलात्कारका आरोपितविरुद्ध उजूरी गर्न गाउँका पञ्चले रोक लगाउँदै अपमानपूर्वक व्यवहार गरेपछि पीडितले आत्महत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय, कल्याणपुरमा १० जना पञ्चविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता छ ।

    प्रहरीका अनुसार स्थानीय शत्रुघ्न मण्डलको घरमा बसेको पञ्चायतमा निज शत्रुघ्नसहित उनका दाजु जयकान्त, भाइ देबु, सत्यनारायण मण्डल, वासुदेव मण्डल, झमेली मण्डल, रामजी भनिने बेचन मण्डल, उचितलाल मण्डल, विन्देश्वर मण्डल र वंशराज मण्डलले धम्क्याउँदै उजूरी गर्न रोकेका थिए ।

    जिल्ला अदालतले फरार रहेका पञ्च विन्देश्वर मण्डल र वंशराज मण्डललाई साउन १९ गते तथा शत्रुघ्न, उनका भाइ देबु मण्डल, झमेली मण्डल, उचितलाल मण्डल र रामजी भनिने बेचन मण्डललाई साउन २ गते पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेका आरोपितहरु विरुद्ध जिल्ला अदालतले मङ्गलबार वारेण्ट जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार