सोमबार, जेठ ७ गते २०८१

फिल्मी शैलीमा ३ क्वीन्टल सुनको तस्करी

फिल्मी शैलीमा ३ क्वीन्टल सुनको तस्करी

अखबार दैनिक
मंगलबार, असोज २७ २०७७
  • फिल्मी शैलीमा ३ क्वीन्टल सुनको तस्करी

    २७ असोज

    images

    राजश्व अनुसन्धान विभागले हालैमात्र करिब ३ क्वीन्टल सुनको अवैध तस्करी भएको तथ्य फेला पारेको छ । त्यसको आर्थिक मूल्य अढाई अर्ब रुपैंयाभन्दा माथि छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार विभिन्न मितिमा गरेर करिब ३२० किलो सुनको तस्करी भएको पत्ता लागेको छ ।

    रुपन्देही जिल्लाको सिद्धार्थनगरमा एउटा सुन पसल छ, जसको नाम हो, सोनी ज्वेलर्स । त्यो पसल खासै चलेको पसल पनि हैन । त्यहाँ खासै ठूलो चहलपहल पनि हुँदैन । सिद्धार्थनगर क्षेत्रकै अरु पसलमा बरु धेरै चर्चित छ, तर त्यो पसल त्यति चर्चित पनि होइन । राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनाली भन्छन्, ‘सोनिका ज्वेलर्सको नाममा वार्षिक १६/१७ करोडको कारोबार मात्रै भएको देखिएको छ । तर, एकैदिनमा करोडौँ रुपैयाँको बैङ्क कारोबार भएपछि शंका लागेको थियो ।’

    सो ज्वेलर्सको नाममा अवैध रुपमा सुनको कारोबार हुने गरेको सूचना विभागलाई अघिल्लो पुसमै सूचना आएको थियो । सूचनाका आधारमा विभागले सो ज्वेलर्समाथि निगरानी गर्दै आएको थियो । तर, असार ३० गते विभागलाई थप विश्वसनीय सूचना प्राप्त भयो । बोरामा पैसा हालेर एउटा गाडी भैरहवाबाट वुटबल जाँदैछ भन्ने सूचना आएपछि तत्कालै विभागअन्तर्गतका प्रहरीले सो गाडीलाई पक्राउ गरेको थियो । विभागले सो समयमा कर छलिका मुख्य नाइके सुनिल सुनार र उनका मतियार अमित परियारलाई पक्राउ गरेको थियो । त्यो गाडीमा ७५ लाख रुपैयाँ फेला परेको थियो भने पसलमा छापा मार्दा थप २५ लाख नगद र खरिदको कुनै प्रमाण नभएको १ केजी सुन समेत बरामद गरेको थियो ।

    पक्राउ परेपछि विभागले उनीहरुउपर लामो समय अनुसन्धान गर्यो । पक्राउ परेको करिब ३ महिनापछि मात्रै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । यो अवधिमा उनीहरुको वित्तीय कारोबारको विवरण र सुनको बिक्री गरिएको पसलबारे अनुसन्धान भएको महानिर्देशक मैनालीको भनाइ छ । ‘हामीले संलग्न भएका व्यक्तिहरु र उनीहरुसँग सम्बन्धित व्यक्तिको बैङ्क खातामा भएका कारोबारहरुको अनुसन्धान गर्यौं । उनीहरुले गरेको कुराकानीलाई डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गराएर प्रमाण संकलन गर्यौ । पर्याप्त प्रमाण भएपछि मात्रै हामीले मुद्दा दायर गरेका हौँ,’ मैनालीले भने ।

    अनुसन्धानले उनीहरुले ल्याएको सुन नेपालमा बिक्री गर्ने नभइ भारततिर तस्करी गर्ने गरेको पत्ता लागेको मैनालीले बताए । सुन कहाँबाट आयो ? खुलेको छैन । तर, अहिलेसम्म नेपालमा उनीहरुले सुन बिक्री गरेको पाइएको छैन । उनीहरुले यहीँ बिक्री गर्ने भन्दा पनि भारतमा तस्करी गर्ने गरेको निष्कर्ष विभागको छ । यी सबै सुनको तस्करी विगत २ वर्षको अवधिमा भएको समेत विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार