सोमबार, जेठ ७ गते २०८१

उपत्यकामा दसैँ सुरक्षा योजना : १० हजार प्रहरी परिचालन गर्दै होटल, गेष्टहाउस, बसपार्क र मलमा सर्च अप्रेशन

उपत्यकामा दसैँ सुरक्षा योजना : १० हजार प्रहरी परिचालन गर्दै होटल, गेष्टहाउस, बसपार्क र मलमा सर्च अप्रेशन

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • उपत्यकामा दसैँ सुरक्षा योजना : १० हजार प्रहरी परिचालन गर्दै होटल, गेष्टहाउस, बसपार्क र मलमा सर्च अप्रेशन

    pic.jpgआश्विन २६

    images

    दसैँको बेला उपत्यकामा कार्यरत प्रहरी–कर्मचारीले बिदा नपाउने भएका छन् । कोभिड–१९ को जोखिम र चाडपर्वमा हुने अपराध नियन्त्रण गर्नुपर्ने दायित्वले गर्दा प्रहरी कर्मचारीले बिदा नपाउने महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले अखबारदैनिकलाई जानकारी दिए । उनले भने, ‘दसैँ–तिहारको बेला सुरक्षाका लागि उपत्यकामा मात्रै करिब १० हजार प्रहरी परिचालित हुन्छन्, त्यसैले बिदा दिने अवस्था छैन ।’ उपत्यकाका वृत र प्रभाग प्रमुखहरुलाई कार्यालयमा ‘उल्लासपूर्वक’ दसैँ मनाउन महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ । काममा ध्यान दिँदै उल्लासपूर्वक दसैँ मनाउन मातहतलाई निर्देशन दिइएको डीआईजी पोखरेलको भनाइ छ ।

    काठमाडौँ । कोरोना महामारीविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिएको प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ । कात्तिक १ गतेबाट दसैँ सुरु हुँदैछ । त्यसैले प्रहरीले काठमाडौँ उपत्यकामा चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले अखबारदैनिकलाई जानकारी दिए ।

    दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँमा ३ हजार ७ सय प्रहरी परिचालन गरिएको छ । चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एण्ड सर्च अप्रेशन’ गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले अखबारदैनिकलाई बताए । उनले भने, ‘गेष्ट हाउस र होटलमा सर्च अप्रेशन चलाउँछौँ, लामो दुरीका बस छुट्ने र आउने ठाउँमा सादा पोशाकमा प्रहरी खटाएर निगरानी गर्छौँ ।’

    धेरै भिडभाड हुने बसपार्क र सपिङ मलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर ‘डग स्निफिङ’ गराउने सुरक्षा रणनीति तयार गरेको छ । शनिबारसम्म काठमाडौँ प्रहरीले लामो दुरीमा चल्ने सवारी साधनमा यात्रु ठगीमा संलग्न ९७ जनालाई पक्राउ गरेको छ । ‘चाडपर्व सुरक्षा योजना लागू भैसकेको छ,’ ज्ञवाली भन्छन्, ‘३६ ठाउँमा चेकप्वाइन्ट राखेका छौँ ।’

    काठमाडौँ उपत्यकामा प्रहरीको २८ ‘एम्बुसिङ टिम’ खटिएका छन् । नियमित ६६ वटा पिकेट ड्युटी बाहेक दसैँ–तिहार लक्षित गरी थप ३० ठाउँमा पिकेट टिम परिचालन गरिएको प्रहरीको भनाइ छ ।

    काठमाडौँ प्रहरीले घर–डेरा छाडेर उपत्यका बाहिर जाँदा डेरामा मूल्यवान वस्तु नराख्नसमेत अपिल गरेको छ । सुन, पैसा र मूल्यवान ग्याजेट डेरामा नछाड्न आग्रह गर्दै ज्ञवालीले भने, ‘चोरको निसानामा बहुमूल्य सामान पर्ने हुनाले ती सामानलाई बैंक लकरमा राखेर जाँदा चोरी हुने जोखिम हुँदैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार