बिहीबार , वैशाख २७ गते २०८१

आलोक कुमार सातपुतेका चर्चित लघुकथाहरु

आलोक कुमार सातपुतेका चर्चित लघुकथाहरु

अखबार दैनिक
शनिबार, असोज २४ २०७७
  • आलोक कुमार सातपुतेका चर्चित लघुकथाहरु

    आलोक कुमार सातपुते

    images

    बहुमत

    “किन कि चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ। त्यसैकारण म मूर्ति-पूजाको तरफदारी गर्छु।” एउटा धर्मले अरू दुई धर्म भन्दा आफ्नो बिशिष्टता सिद्ध गर्नाको उद्देश्यले भन्यो। “म मूर्ति-पूजाको बिपक्षमा उभीन्छु, तर म पितृ-पूजाको तरफदारी गर्छु, त्यसैले म सर्बोत्कृष्ट हुँ।” अर्को धर्मले भन्यो। “म त मूर्तिपूजाको कट्टर बिरोधी हुँ, तर म एकैठाउँमा बसेर, कुनै एक चित्र बिशेषको पूजा, उसको प्रार्थना अनि आराधनाको तरफदारी गर्छु, त्यसैले म तिमीहरू दुबै भन्दा उत्कृष्ट छु।” तेश्रो धर्मले भन्यो। उत्कृष्टता सिद्ध गर्ने होडमा उनीहरू तीनै जना एक धर्म निरपेक्ष व्यक्ति सम्मुख निर्णयका लागि पुगे, अनि उसको सामुन्ने आ-आफ्नो दलीलहरू पेस गरे। त्यो व्यक्ति यो सोचेर मुस्कुरायो कि प्रतिकको पूजा त तीनै धर्ममा प्रचलित छ, अनि बडो समझदारीपूर्वक उत्तर दियो - कुनै पनि ठाउँमा जुन धर्मको पालना गर्ने व्यक्तिहरू ज्यादा छन, त्यहाँ त्यही धर्म श्रेष्ठ हुन्छ। अर्थात हजुरहरूको श्रेष्ठता हजुरको सिद्धान्तमा हैन, बरू बहुमतमा छ ।

    तपस्वी

    एक कुकुर्नीको पछाडि कामवासनाका साथ घुमिरहेका पाँच कुकुरहरूमध्ये एक कुकुरलाई लाग्न थाल्यो कि अब केही हासिल हुने वाला छैन। अनि त्यसपछि त्यो कुकुर कुनै बटबृक्ष मुनि गएर बस्यो। त्यसै बेला त्यतै तिरबाट हिँडीरहेको अर्को कुकुरले उसलाई छेड हान्यो - “के हारिस होइन त? तँ त पुरै कुकुरको जातको बदनाम गर्ने भईस् है। धिक्कार छ तेरो कुकुरको जुनीलाई।” अनि त्यो कुकुरले बिल्कुल कुनै तपस्वीले झैँ गरी जवाफ दियो - “मित्र त्यो कुकुर्नीको पछिपछि घुम्दा घुम्दै मलाई दिव्य ज्ञान प्राप्त भयो, अनि मलाई लाग्न थाल्यो कि ‘वासना’ ठीक होइन। यसले चरित्र पतीत हुन्छ। कुकुरहरूमा कोही न कोही त चरित्रवान् हुनु पऱ्यो नि, अनि हेर्नुस त मित्र तपाईँले पनि देखिरहनुभएको छ कि म त बटवृक्ष मुनि बसीरहेको छु।” “ए त्यसो भए अहिले तिमी नभई यो बटवृक्ष पो बोलिरहेको हो।” यसो भन्दै त्यो कुकुर त्यहाँबाट अगाडि बढ्यो ।

    आ-आफ्नो तालिबान

    “किनकी अमेरिका ईसाई राष्ट्र हो र इजरायलमा येशुको जन्म भएको थियो, त्यसैले भारतीय समाचार माध्यमहरू यी दुई देशहरूप्रति दुर्भावना राख्ने गर्दछन्, अनि विश्वको कुनै पनि स्थानमा घटेको घटनाको लागि अमेरिकालाई नै जिम्मेवार देखाउँछन्। यहाँ सम्म कि सोवियत संघको विघटनको लागि पनि अमेरिकालाई नै दोषी ठहराउने गर्दछन्। सही जानकारी त केवल ‘सी.एन.एन.’ र ‘स्टार’ले मात्र दिने गर्दछन्।” – एक ईसाईले भन्यो। “कश्मीरको बारेमा भारतीय समाचार माध्यमहरू गलत जानकारी दिने गर्दछन। कश्मीरको बारेमा सही जानकारी त पि.टि.भि. च्यानलबाट मात्र आउँछ।” – एक मुसलमानले भन्यो। “माफ गर्नुहोला तपाईँहरू भारत मै बस्नुहुन्छ अनि …” एक हिन्दू केही भन्दा-भन्दै रोकियो। “होइन…। हामी भारतमा होइन हिन्दुस्तानमा बस्छौँ, जहाँको तालीबानि गुट कहिले बाबरी मस्जिद ध्वस्त गर्छ, अनि कहिले कोही पादरीको हत्या गराउँछन्।” मुसलमान र ईसाईले एकसाथ उत्तर दिए ।

    अफिम

    मैले कुनै महापुरूषको उक्ति पढेको थिएँ - कुनै विषयमा गम्भीर चिन्तन मनन गरेर मात्र आफ्नो दृष्टिकोण राख्नु पर्छ। अनि मैले विषयको रूपमा धर्म चुनेँ अनि सबै धर्मग्रन्थहरू पढेँ। तिनिहरूमाथि गम्भिर चिन्तन मनन गरेँ अनि मानिसहरूको सामु धर्मग्रन्थहरूको बारेमा आफ्नो दृष्टिकोण राखेँ। ...आज सबै धर्मका मानिसहरू पहिलो पल्ट एकजुट भएर मलाई सुली चढाउन लैजाँदैछन्। मर्दा मर्दै म त्यस महापुरुषको त्यो उक्तिमा अलिकति बिस्तार गर्न चाहन्छु। कुनै पनि विषयमा गम्भिर चिन्तन मनन गरेर मात्र दृष्टिकोण राख्नु पर्छ तर विषय भने धर्म बाहेक अरू हुनुपर्छ ।

    कुण्ठाकथा

    “कार्यालयलाई किन रमिताको माध्यम बनाइराख्नुहुन्छ? मलाई पक्का खबर आएको छ कि तपाईँ अफिसको कम्प्युटरमा अश्लील वेवसाइट हेर्नुहुन्छ, अनि अरू कर्मचारीहरूलाई पनि देखाउने गर्नुहुन्छ।” हाकिम शर्माले विनयलाई हकार्दै भन्यो। अपराधबोध गर्दै विनय शर्मा साहेबको कक्षबाट बाहिर निक्लियो। उसले विगत केही दिनदेखि शर्मा साहेबको हरकत नियाल्दै थियो। कुनै न कुनै बहानामा शर्मा साहेब उसलाई अपमानित गर्ने अवसरको खोजीमा लागिरहन्थ्यो। ऊ सोच्थ्यो कि सायद ऊ दलित भएकोले त्यस्तो भएको होला। शर्मा साहेबको कक्षबाट बाहिर आएपछि ऊ हलकोठा हुँदै आफ्नो सिट भएतिर अघि बढ्दै थियो। उसलाई लागिरहेथ्यो कि हलकोठामा बसेका सबैजसो कर्मचारीहरू उसलाई व्यंग्यभावले हेर्दै थिए। ऊ नजर बचाउँदै आफ्नो सिटमा गएर बस्यो। यो कुरो सत्य थियो कि पूरा अफिसको इन्टरनेटको बारेमा ज्ञान उसलाई मात्र थियो। उसलाई उच्च प्राविधिक कर्मचारीको रूपमा चिनिने गर्थ्यो। ऊ आफ्ना सबै साथीहरूलाई इन्टरनेटसँग परिचित गराउन चाहन्थ्यो, तर एकै छिन पछि उनीहरू सिक्नुको सट्टा उसलाई “यसो केही माल-साल हेर्न पाइन्छ भने देखा न यार” भन्ने गर्थे। उसलाई एक दुइओटा अश्लील साइटको इन्टरनेट ठेगाना थाहा थियो, अनि ऊ उनीहरूलाई त्यहि देखाइदिने गर्थ्यो। अफिसका सबैजसो आफ्नो उमेरका मित्रहरूलाई त देखाइसकेको थियो। तिनैमा केही त उसका बाबुका उमेरका पनि थिए। अरू त अरू अझ अफिसका महिला कर्मचारीहरू पनि हाँस्दै उसलाई विनय जी हामीलाई पनि त इन्टरनेट सिकाइदिनुस् न भन्ने गर्थे। शर्मा साहेबले हकारे पछि उसलाई साह्रै नमजा लागिरहेथ्यो। ऊ किंकर्तव्यविमूढको अवस्थामा आफ्नो सिटमा बसिरह्यो। कतिबेला अफिसको समय समाप्त भएर घर जाने बेला भैसकेछ, उसलाई थाहै भएन। घडि हेरेर जानको लागि उठ्नै के आँटेको थियो, शर्मा साहेब त्यहाँ आइपुगे अनि भन्न थाले – “विनय जी मलाई त्यो साइट खोलेर देखाइदिनुहोस् न। हेर्नोस् न कति दिनदेखि म हजुरसँग यो कुरा भन्न चाहन्थेँ, तर..जे होस्। के गर्नु हेर्नुस् न यार यो पुरै संसार नै कुण्ठित छ। शर्मा साहेबलाई इन्टरनेटको साइट देखाउँदै गर्दा विनय आफैँलाई कुण्ठारहित महसुस गर्न थाल्यो ।

    कारोबार

    जमूराः उस्ताद, म भिड जम्मा गर्नलाई कति बेरदेखि डमरु बजाउँदै छु, तर मानिसहरू त जम्मा नै हुँदैनन् त!

    उस्तादः केटा, मलाई त यस्तो लाग्छ कि अब हामिले यो धन्दा छोड्नु पर्छ होला।

    जमूराः किन र उस्ताद ?

    उस्तादः अरे, अब यो धन्दामा थुप्रै मान्छेहरू लागिसके। प्रतिष्पर्धा एकदम कठीन हुँदै जाँदै छ। कोही कोही स्वर्गसँगको बिद्रोह सम्मको नाटक देखाउँदैछन। कतै कतै धर्मान्तरण अनि घर-फिर्ती जस्ता कार्यक्रमहरू सँगसँगै चलि रहेका छन्। कतै कुनै मस्जिद उडाउने कार्यक्रम बन्दैछ, त कतै मन्दिरमा बम राख्ने काम हुँदैछ। जनताहरू पनि साला भेडा त हुन जो इनिहरूकै अगि-पछि घुमी रहन्छन्।

    जमूराः छाड्नुस् उस्ताद आखिर जनताको पनि स्वाद फेरिएको जस्तो छ। उस्ताद आजभोली त यहाँ ज्योतिषिहरूको खुब बोलबाला छ। हामी पनि यही धन्दा शुरू गरौँ। एउटा सुगा पालौँ अनि त्यसलाई कागज उठाउने तालिम दिउँ बस्।

    उस्तादः अरे मैले एक पटक यसै कामको लागि सुगा पनि पालेको थिएँ ।

    जमूराः त्यस पछि के भयो त उस्ताद?

    उस्तादः मैले त्यो सुगालाई गीताको दुई-चार श्लोक अनि कुरानको दुई-चार ओटा अयातहरू रटाएँ।

    जमूराः अनि...?

    उस्तादः अनि के मानिसहरूले त्यही सुगालाई ज्ञानी मानेर त्यसैको पूजा गर्न शुरू गरे। अनि एक दिन जब त्यो सुगा मऱ्यो अनि त शहर भरी दङ्गा शुरू भयो। हिन्दुहरू भन्न लागे कि त्यो सुगाले मर्ने बेलामा गीताको श्लोक भनेको थियो अनि मुसलमानहरू भन्न थाले कि त्यसले मर्ने बेलामा कुरानको अयात पढेको थियो ।

    जमूराः फेरि के भयो उस्ताद?

    उस्तादः के हुनु थियो र अनि एक सम्झौता भयो अनि त्यसै सम्झौताको अनुरूप त्यहाँ एउटा तोतेश्वरको मन्दिर अनि त्यही मन्दिरसँगै जोडेर अर्को मिठ्ठू मियाँको मजार बनाइयो।

    जमूराः उस्ताद संसार मा के कहिल्यै अमन चैन कायम हुन्छ कि मानिसहरू यसरी नै धर्मयुद्धको नाममा भएका दङ्गाहरूमा मारिँदै जानेछन् ?

    उस्तादः केटो, यो संसारमा अमन चैन त्यतिबेला कायम हुन्छ जतिबेला सबै मानिसहरू बिधर्मी बन्ने छन कि त मानिसहरू धर्मलाई कपडा बदले सरह बदल्न थाल्नेछन् ।

    "भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् ।

    भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् । भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् ।

    त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार