धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु एक करोड ८० लाख मूल्य बराबरको धानमा क्षति पुगेको छ । कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब रु एक करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको बताउनुभयो ।
नवलपुरमा हालैको वर्षाका कारण १९० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान बालीमा क्षति पुगेको कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो । त्यसबाट ५२१ मेट्रिकटन धानमा क्षति पुगेको उहाँले बताउनुभयो ।
नवलपुरमा यो वर्ष करिब १८ हजार ३०० सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो । अहिले धान भित्र्याउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्र्याएका छन् । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो ।
धानको उचित मूल्य नपाएको किसानको गुनासो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानखेती गरेका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्य आफूहरुले नपाएको गुनासो गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ कायम गरेको छ । तर किसानहरुले उक्त मूल्य प्राप्त नगरेको गुनासो गरेका छन् ।
कावासोतीका इन्द्रलाल महतोले धानको मूल्य कम पाएको गुनासो गर्नुभयो । उहाँले सरकाले भनेकोभन्दा कम मूल्यमा धान बेच्नुपरेको गुनासो गर्नुभयो । जिल्लाका विभिन्न स्थानबाट किसानहरूले सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपरेको गुनासो आफूहरुलाई गरेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।
नवलपुरमा व्यापारीहरूले धान प्रति क्विन्टल रु दुई हजार ८०० देखि रु तीन हजार १०० भन्दा बढी मूल्य नदिएको कृषकबाट गुनासो आएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । उहाँले व्यापारीहरूलाई तोकिएकै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अनुरोध गर्नुभएको छ । रासस
