काठमाडौं । भारतको मध्य प्रदेश र राजस्थानमा दूषित कफ सिरप सेवन गरेका बालबालिकाको मृत्युसँग सम्बन्धित विषयमा खोजीमा रहेका एक फार्मास्युटिकल कम्पनीका ७५ वर्षीय मालिक जी. रंगनाथनलाई बिहीबार बिहान चेन्नईको अपार्टमेन्टबाट पक्राउ गरिएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
रंगनाथनको गिरफ्तारी मध्य प्रदेशको छिन्दवाडा जिल्लामा उनको कम्पनीद्वारा उत्पादित कोल्ड्रिफ नामक कफ सिरप सेवन गरेपछि धेरै बालबालिकाको मृत्यु भएको केही दिनपछिको हो । यो घटनाले गुणस्तरहीन औषधिको उत्पादन र बिक्रीमाथि व्यापक अनुसन्धानको दबाव बढाएको छ ।
मध्य प्रदेश प्रहरीका उपअधिक्षक जितेन्द्र जाटको नेतृत्वमा रहेको सात सदस्यीय टोलीले रंगनाथनलाई उनकै निवासबाट पक्राउ गरेको हो । अधिकारीहरूले उनलाई मध्यरात १२ः३० बजे हिरासतमा लिएर तमिलनाडुको काञ्चीपुरम जिल्लामा लगिएको छ ।
कोल्ड्रिफ कफ सिरपमा बालबालिकाको मृत्युसँग सम्बन्धित विषाक्त पदार्थ फेला परेपछि मध्य प्रदेशसहित धेरै राज्यका अधिकारीले उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न आदेश दिएका छन् ।
चेन्नईको ड्रग टेस्टिङ ल्याबोरेटरीमा सरकारी विश्लेषकबाट आएको परीक्षण प्रतिवेदनमा उक्त कफ सिरपलाई स्ट्याडर्ड गुणस्तरको नभएको घोषणा गरिएको छ । विश्लेषणमा सिरपमा भोल्युमको आधारमा ४८.६ प्रतिशतसम्म डाइथिलिन ग्लाइकोल नामक विषाक्त औद्योगिक रसायन रहेको पत्ता लागेको छ ।