अमेरिकाको लस एन्जलसस्थित एक अदालतले मेसोथेलियोमा क्यान्सरबाट मृत्यु भएकी एक महिलाको परिवारलाई ९६६ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न जोनसन एन्ड जोनसन कम्पनीलाई आदेश दिएको छ । अदालतले महिलाको मृत्युका निम्ति कम्पनीलाई जिम्मेवार ठहर गर्दै यो जरिवाना लगाएको हो ।
परिवारका सदस्यले महिलाले जीवनभर कम्पनीको बेबी पाउडर प्रयोग गरेको र सोही कारण उनलाई क्यान्सर भएको जिकिर गरेका थिए । अदालतले आफ्नो फैसलामा जोनसन एन्ड जोनसन नै मे मुर नामकी महिलालाई भएको क्यान्सरका निम्ति जिम्मेवार मानेको छ ।
अदालतले परिवारलाई क्षतिपूर्तिका रूपमा करिब १६ मिलियन डलर र दण्डात्मक जरिवानाबापत ९६६ मिलियन दिने आदेश दिएको छ । सन् २०२१ मा ८८ वर्षको मुरको उमेरमा निधन भएको थियो ।
परिवारले कम्पनीले पाउडरमा रहेको क्यान्सरको जोखिम स्पष्ट नगरी धोका दिएको आरोप लगाएको थियो । परिवारकी वकिल जेसिका डीन ले भनिन्, “हामीलाई अदालतमा आफ्नो पक्ष साबित गर्न पाँच वर्ष लाग्यो ।”
मुरले जोनसन एन्ड जोनसनका साथै शावर–टु–शावर पाउडर पनि करिब ८० वर्षसम्म प्रयोग गरेकी थिइन् । कम्पनीले शावर–टु–शावरलाई सन् २०१२ मा १५ करोड डलरमा भ्यालेन्ट फार्मालाई बेचेको थियो ।
फैसलालाई चुनौती
जोनसन एन्ड जोनसनको विश्वव्यापी कानुनी मामिला हेर्ने एरिक हासले यो फैसलाविरुद्ध तत्कालै अपिल गर्ने बताएका छन् । उनले यो फैसला बेबी पाउडर मामिलाबाट पूर्ण रूपमा विरोधाभाषी भएको बताए ।
कम्पनीले बेबी पाउडरमा रहेको एस्बेस्टसका कारण दायर मुद्दा सुल्झाउन तीन अर्ब डलरभन्दा बढी रकम खर्च गरिसकेको छ । यद्यपि, कम्पनीमाथि ७० हजारभन्दा बढी यस्ता मुद्दा विचाराधीन छन् । ती मुद्दामा यसका कारण मेसोथेलियोमा र डिम्बाशयको क्यान्सर भएको आरोप लगाइएको छ ।
कम्पनीले यो पाउडर सन् २०२३ मा विश्वभरका बजारबाट फिर्ता लिएको थियो । मुद्दाबाट जोगिन कम्पनीले दिबालिया पन अदालतको ढोका ढकढक्याएको छ । तर, उसको यो प्रयास तीनपटक असफल भइसकेको छ । एनडीटीभी