सोमबार, असोज २८ गते २०८२

विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’

विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’

अखबार दैनिक
मंगलबार, असोज ८ २०८२
  • विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’

    लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आउनुभएको छ । यसपालिको दसैँमा उहाँले ‘प्यारो गाउँघरमा’ गीत पाठक/स्रोतामाझ ल्याउनुभएको छ । यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्तीमगरले स्वर दिनुभएको छ ।

    खत्रीको शब्द र सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सृजना गर्दै आएको खत्री बताउनुहुन्छ । उहाँका गीतले चाडबाड आएको छनक दिन्छन् ।

    मार्मिक सृजना र ग्रामीण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ । गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन उहाँ पारङ्गत हुनुहुन्छ । आफ्ना हरेक सृजनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास गर्दै आएको खत्रीको भनाइ छ ।

    “दसैँगीत मेरो साङ्गीतिक जीवनको पर्यायजस्तै बनेको छ, विगत १८ वर्षदेखि यसलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो ।

    दुई दशकभन्दा बढी समयदेखि लोकसङ्गीतमा सक्रिय खत्रीले दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आउनुभएको छ । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहनुहुन्छ । गत वर्षको दसैँमा खत्रीले ‘रित्तो भकारी’ गीत ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँतिहार गाउँमा’, ‘दसैँतिहारसँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।

    विसं २०६४ मा सार्वजनिक पहिलो दसैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बिमाकुमारी दुराले साथ दिनुभएको थियो । पछिल्ला गीतमा उहाँले विभिन्न गायिकाहरूसँग सहकार्य गर्दै आउनुभएको छ । अठार वर्षदेखि लगातार दसैँलक्षित गीत सार्वजनिक गर्नुभएका खत्री दसैँगीतका पर्यायका रूपमा चिनिन थाल्नुभएको छ । उहाँका गीतमा परदेशिएका नेपालीको भोगाइ र उनीहरूको मनोदशाको सजीव प्रस्तुति पाइन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ