सोमबार, असोज २८ गते २०८२

नेपालमा ‘जेनजी’को आन्दोलनपछि फिलिपिन्समा ‘नेपो–बेबी’विरुद्ध आक्रोश

नेपालमा ‘जेनजी’को आन्दोलनपछि फिलिपिन्समा ‘नेपो–बेबी’विरुद्ध आक्रोश

अखबार दैनिक
सोमबार, असोज ७ २०८२
  • नेपालमा ‘जेनजी’को आन्दोलनपछि फिलिपिन्समा ‘नेपो–बेबी’विरुद्ध आक्रोश

    काठमाडौं । हालै नेपालमा भएको भ्रष्टाचार विरोधी आन्दोलनले सरकार नै विस्थापित गर्‍यो । नयाँ चुनावी सरकार गठन भयो । फिलिपिन्समा पनि ‘नेपो–बेबी’ र भ्रष्टाचारविरुद्धको अभियान तीव्र बनेको छ ।

    फेसबुक र एक्सजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा जवाफदेहिताको मागसहित अभियान चलेको छ । अभियानकर्ताहरूले विधायक र निर्माण व्यवसायीलाई निशाना बनाउँदै ‘कागजी बाढी नियन्त्रण परियोजना’ सञ्चालन गरेको आरोप लगाएका छन् ।

    सार्वजनिक आक्रोश विशेषगरी प्रशान्त र सारा डिस्काया दम्पतीमाथि केन्द्रित छ । सामान्य पृष्ठभूमिबाट उठेका उनीहरू धनी बनेका थिए । तर, अहिले ३६ वटा विलासी गाडी देखाएको भिडियो बाहिरिएपछि छानबिनको घेरामा परेका छन् ।

    युट्युबमा गरिबीबाट धनी बनेको ‘प्रेरणादायक’ कथा प्रस्तुत गरेर प्रशंसा पाएका उनीहरू हाल करदाताको पैसामा विलासी जीवन बिताएको आरोपमा आलोचनाको केन्द्र बनेका छन् ।

    फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड बङबङ मार्कोस जुनियरले बाढी नियन्त्रणका लागि बनेको बाँध निरीक्षण गर्दा त्यो अस्तित्वमै नभएको पत्ता लागेको थियो । त्यसपछि आर्थिक योजनाकारहरूले सार्वजनिक कोषको करिब ७० प्रतिशत भ्रष्टाचार भएको स्वीकार गरेका थिए । उक्त घटनापछि उच्च पदस्थ राजनीतिज्ञहरूको राजीनामा र बर्खास्ती भएको छ । ठेकेदारहरूमाथि अनुसन्धान जारी छ । 

    काल्पिटका २८ वर्षीय सरकारी अनुसन्धानकर्ताले बीबीसीसँग भने, “म क्रोधित र निराश छु, किनभने हाम्रो प्रान्तमा बाढी नियन्त्रणका लागि छुट्याइएको पैसा दुरुपयोग भयो । त्यो रकम व्यक्तिगत फाइदाका लागि प्रयोग गर्नेहरूको हातमा गयो ।”

    राष्ट्रपतीय भवननजिक झडप, दर्जनौँ गिरफ्तार
    आइतबार राष्ट्रपति भवनतर्फ जाने सडक र पुल अवरुद्ध गर्दै प्रहरीमाथि ढुंगा, बोतल र पेट्रोल बम प्रहार गरेको आरोपमा फिलिपिन्स प्रहरीले ४९ जनालाई गिरफ्तार गरेको छ ।

    यसैबीच, राजधानीमा भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण र्‍यालीसमेत भइरहेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका समाचारका उल्लेख छ । 

    राजधानीको ऐतिहासिक पार्क र प्रजातन्त्र स्मारकमा ३३ हजारभन्दा बढी प्रदर्शनकारी भेला भएर भ्रष्टाचारविरुद्ध आक्रोश प्रकट गरिरहेका बेला राष्ट्रपति निवासबाहिर झडप भएको हो ।

    प्रदर्शनकारीहरूले सांसद, अधिकारी र निर्माण कम्पनी मालिकहरूले बाढी नियन्त्रण परियोजनाबाट ठूलो रकम घुस लिएको आरोप लगाएका छन् । फिलिपिन्स बारम्बार आँधी र तुफानको मारमा पर्ने दक्षिणपूर्वी एसियाली मुलुक हो ।

    मनिला प्रहरीले प्रदर्शनकारीमध्ये धेरैले लाठी बोकेको र केहीले फिलिपिन्सको झन्डा तथा भ्रष्टाचारविरोधी नारासहितका पोस्टर बोकेको जनाएको छ । घण्टौँसम्म चलेको हिंसात्मक भिडन्तमा करिब ७० जना प्रहरी घाइते भएका छन् । हिंसाका कारण विद्यालयहरू बन्द गर्नुपरेको छ । 

    प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको बताएको छ । आक्रमणकारीहरूले फलामे खम्बा ढाले, सिसाका प्यानल फुटाए र विश्वविद्यालय, बैंक तथा रेस्टुरेन्टहरूले भरिएको सडकमा रहेको होटेलको लबी लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ ।

    भ्रष्टाचार छानबिनमा सांसद र अधिकारीहरूको नाम सार्वजनिक घटनापछि पनि प्रहरीले आक्रमणकारीहरूको पहिचान तत्काल गर्न नसकेको बताइएको छ । एपीका अनुसार, केहीले टाउकोको अस्थिपञ्जर र हाडको चित्र भएको कालो झन्डा बोकेका थिए । उनीहरू सुरुमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी थिए वा होइनन् भन्ने स्पष्ट छैन ।

    घटना हुँदा राष्ट्रपति मार्कोस जुनियर राष्ट्रपति भवनमा थिए वा थिएनन् भन्ने खुलेको छैन । गिरफ्तारीपछि प्रहरीले विज्ञप्ति जारी गर्दै स्थिति नियन्त्रणमा रहेको तर हिंसा र तोडफोड सहन नसकिने चेतावनी दिएको छ ।

    मनिलामा एसोसिएटेड प्रेससँग कुरा गर्दै विद्यार्थी नेता अल्थिया त्रिनिडाडले भनिन्, “गरिबीमा बाँचिरहेका मानिसहरूले घर, जीवन र भविष्य गुमाइरहेका छन् । तर, राजनीतिज्ञहरूले जनताको करबाट विलासी गाडी, विदेश भ्रमण र ठूला कारोबारमार्फत ठूलो परिमाणमा सम्पत्ति कमाइरहेका छन् । यसले मलाई पीडा दिएको छ ।”

    फिलिपिन्स क्याथोलिक विशप्स सम्मेलनका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले विज्ञप्तिमा भने, “हाम्रो उद्देश्य अस्थिरता ल्याउनु होइन, प्रजातन्त्रलाई बलियो बनाउनु हो ।” उनले जनतालाई शान्तिपूर्णरूपमा प्रदर्शन गर्न र जवाफदेहिताको माग गर्न आग्रह गरे ।

    घोटालाको पृष्ठभूमि
    मार्कोसले पहिलोपटक गत जुलाईमा आफ्नो वार्षिक ‘स्टेट अफ द नेसन’ सम्बोधनमा बाढी नियन्त्रण भ्रष्टाचारको घोटालालाई उजागर गरेका थिए ।

    उनले त्यसपछि स्वतन्त्र आयोग गठन गरेर अनुसन्धान थालेका थिए । आयोगले सन् २०२२ को मध्यदेखि हालसम्म ५४५ अर्ब पेसोभन्दा बढी लागतका करिब नौ हजार ८५५ परियोजनामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

    मार्कोसले भ्रष्टाचारको परिणाम ‘भयानक’ भएको बताउँदै सार्वजनिक निर्माण मन्त्रीको राजीनामा स्वीकार गरेका थिए ।

    धनी डिस्काया दम्पतीले धेरै निर्माण कम्पनी सञ्चालन गर्दै ठूला ठेक्का हात पारेका थिए । उनीहरूले सञ्चारमाध्यमलाई आफ्ना दर्जनौँ युरोपेली र अमेरिकी विलासी गाडी देखाएपछि सार्वजनिक आक्रोश चुलिएको थियो । त्यसबेला उनीहरूसँग ४२ मिलियन पेसो पर्ने बेलायती विलासी गाडीसमेत थियो, जुन उनीहरूले ‘निःशुल्क छातासहित आएको’ भन्दै किनेको दाबी गरेका थिए । एपीन्युज

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ