आइतबार, भदौ ३० गते २०८२

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरूले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरूको सोचअनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । 

    प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरू नै जेन—जी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन् । उनले आन्दोलनका क्रममा भएका क्षतिहरूको मूल्याङ्कन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन् । 

    प्रधानमन्त्री कार्कीले भनिन्, ‘आगामी दिनहरूमा युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई एकदम विचित्र लागेको छ–यो मुलुकमा यो जुन मुभमेन्ट आयो, यो वर्ल्डमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराका मागहरू गरेको हुनाले त्यो पूरा गर्नलाई हामीले अठोट गर्नुपर्ने अवस्था छ । र, यी क्षतिहरूको पनि मूल्याङ्कन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको छ ।’

    प्रधानमन्त्री कार्कीले आफूले सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरूसँग पनि भेटेको उल्लेख गर्दै उनीहरूको पीडालाई सम्बोधन गर्ने पनि बताइन् । -न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ