काठमाडौं । हेपाटाइटिस एक यस्तो रोग हो जसले हाम्रो कलेजोमा गम्भीर असर पुर्याउँछ। यसका पाँच प्रकारहरू छन् जुन ए, बी, सी, डी र ई । विश्व स्वास्थ्य संगठन (WHO) अन्तर्गतको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) ले हालै हेपाटाइटिस ‘डी’ लाई क्यान्सर कारक घोषणा गरेको छ। यसअघि नै हेपाटाइटिस बी र सी लाई पनि क्यान्सरको खतरा हुने रोगहरूमा राखिएको थियो।
अनुसन्धान अनुसार, विश्वभर हेपाटाइटिस बी सङ्क्रमित व्यक्तिहरूमध्ये लगभग ५ प्रतिशतमा हेपाटाइटिस डी पनि देखिएको छ। हेपाटाइटिस डी सँगको सह-सङ्क्रमणले लिभर क्यान्सर र लिभर रोगको जोखिम २ देखि ६ गुणा सम्म बढाउन सक्छ।
WHO को तथ्यांक अनुसार हरेक ३० सेकेन्डमा हेपाटाइटिस सम्बन्धी लिभर रोग वा क्यान्सरका कारण एक जनाको मृत्यु हुन्छ। तर समयमै परीक्षण र सावधानी अपनाउँदा यसबाट बच्न सकिन्छ।
के हो हेपाटाइटिस डी ?
हेपाटाइटिस डी एक भाइरसजन्य सङ्क्रमण हो जसले लिभरमा क्षति पुर्याउँछ। यो भाइरस हेपेटाइटिस बी भाइरसमा निर्भर रहन्छ, किनकि यसको गुणस्तर बढाउन हेपेटाइटिस बी भाइरस (HBV) आवश्यक हुन्छ। HBV बिना हेपेटाइटिस डी भाइरस (HDV) सङ्क्रमण सम्भव छैन।
यसको लक्षणहरू सामान्यतया थकान, पेट दुख्ने, भोक नलाग्ने लगायतका हुन्छन्। शुरूमै हल्का देखिए पनि समयसँगै गम्भीर समस्या निम्त्याउन सक्छ।
यी हुन सक्छन् जोखिममा
पहिलेबाट हेपाटाइटिस बी संक्रमित व्यक्ति
सुईबाट नशालु पदार्थ सेवन गर्नेहरू
संक्रमित व्यक्तिसँग यौन सम्पर्कमा आउनेहरू
संक्रमित व्यक्तिसँग बस्ने परिवारका सदस्यहरू
HIV सङ्क्रमितहरू
स्वास्थ्यकर्मीहरू
हेमोडायलसिस गर्ने बिरामीहरू
बचाउका उपाय
हेपाटाइटिस डी बाट बच्न हेपेटाइटिस बी को संक्रमण रोक्नु आवश्यक छ। समयमै HBP को खोप लगाउनुपर्छ। साथै, सुईको प्रयोगमा सावधानी अपनाउन, संक्रमित व्यक्तिसँग सिधा सम्पर्क टार्न, सुरक्षित यौन सम्बन्ध राख्न र स्वस्थ जीवनशैली अपनाउनुपर्छ।
जाँच र उपचार
HDV को पहिचान रक्त परीक्षणबाट गरिन्छ। हाल यसका लागि कुनै पूर्ण उपचार उपलब्ध छैन, तर केही औषधि र स्वास्थ्य व्यवस्थापनले लिभरको क्षति घटाउन सकिन्छ। गम्भीर अवस्थामा लिभर ट्रान्सप्लान्ट आवश्यक पर्न सक्छ।
पीडितहरूले मदिरा सेवन नगर्न, सन्तुलित आहार लिन र लिभरलाई हानी गर्ने औषधि नलिन चिकित्सकहरुले सुझाव दिन्छन् ।