सांसद विष्णुदेवी पुडासैनीले असारे विकासको प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयोे । आज राष्ट्रियससभाको बैठकमा उहाँले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि गरिने विकास रोक्नुपर्ने बताउनुभयो ।
“वर्षाको समयमा सडक निर्माण गर्दा दुर्घटना बढ्ने र गुणस्तरहीन पूर्वाधार निर्माण हुने भएकाले मनसुन सुरु भएपछि हतार हुने निर्माण कार्य रोकिनुपर्छ,” सांसद पुडासैनीले भन्नुभयो । उहाँले रसुवामा आज बिहान ३ बजे आएको बाढीबाट घाइतेहरूको तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो । मुलुकमा आत्मनिर्भरता बढाउनुपर्ने, रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने उहाँको भनाइ छ ।
सांसद गङ्गाकुमारी बेल्बासेले पनि रसुवामा आएको बाढीले घाइते भएकाको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले आर्थिक रूपमा सबल हुन ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
सांसद तुलसाकुमारी दाहालले संविधानमा उल्लेख गरिएका मौलिक हक कार्यान्वयनका लागि बनेका ऐनहरूको नियमावली नबन्दा कार्यान्वयनमा कठिनाइ आएकाले यस विषयमा तत्काल छलफल आवश्यक रहेको बताउनुभयो । “आवासको हक कार्यान्वयनका लागि विधेयकको मस्यौदा तयार भएको छ । अब समयमा नै स्वीकृत गरेर कार्यान्वयनमा जानुपर्छ,” दाहालले भन्नुभयो, “जनस्वास्थ्यसँग सम्बन्धित ऐनहरूलाई संविधान अनुकूल बनाउने प्रक्रिया अघि बढाउन आवश्यक छ ।”
सांसद दाहालले मुलुकमा काठजन्य वस्तुको आयात भइरहेकाले अब काठमा आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयहरूको सञ्चालनमा एकरूपता ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापन, पूर्वाधारको दीर्घकालीन योजना, शिक्षा तथा रोजगारीमा ध्यान दिनु मुलुकको दीर्घकालीन हितमा हुने धारणा राख्नुभयो । रासस