काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल–इरानबीच जारी युद्ध र विकसित घटनाक्रमबारे नेपालका निम्ति इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् । सोमबार (असार २) परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँगको भेटमा राजदूत बासले इजरायल–इरानबीचको द्वन्द्व र पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका हुन् ।
मन्त्री राणाले त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका निम्ति राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् । भेटमा राजदूत बासले हाल इजरायलमा रहेका नेपाली सुरक्षित रहेका जानकारी गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार (असार १) परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपाली सुरक्षित रहेका जानकारी गराएको थियो । मन्त्री राणाले आइतबार तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन गरी त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।