सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिट्टै सञ्चालनमा आउने बताएका छन्।मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता गुरूङले केही दिनमै बैठक सञ्चालन हुने बताए।
भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्।अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरू गरेको र कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीको राजीनामा नआउने पनि उनले बताए।
‘संसद अवरुद्ध भएको धेरै दिन भइसकेको छ। अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरू गरेको छ। गृह मन्त्रालयको एउटा कर्मचारीमाथि। एउटा कर्मचारीमाथि छानबिन हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन,’ उनले भने, ‘अहिले संसद जसरी अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ। आज सम्भवतः संसद खुल्न सक्ने सम्भावना छ। गृहमन्त्रीले राजीनामा दिनेकुरा पनि आउँदैन। धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ। हाम्रो उठिरहेका प्रश्नको संसदमा धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेटसम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौं।’ मन्त्री गुरूङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए।
न्युज एजेन्सी नेपाल