आइतबार, जेठ २७ गते २०८२

एलन मस्कसँगको सम्बन्ध समाप्त भएको ट्रम्पको घोषणा, भने : ऊ ‘पागल’ हो

एलन मस्कसँगको सम्बन्ध समाप्त भएको ट्रम्पको घोषणा, भने : ऊ ‘पागल’ हो

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • एलन मस्कसँगको सम्बन्ध समाप्त भएको ट्रम्पको घोषणा, भने : ऊ ‘पागल’ हो

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् । मस्कसँगको सम्बन्ध अन्त्य भएको हो ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यस्तै हो भन्ने लाग्छ।’

    images

    सम्बन्ध सुधार गर्ने चाहना छ ? भनेर सोध्दा उनले जवाफ दिएः छैन । ट्रम्पको यो प्रतिक्रिया मस्कसँगको सार्वजनिक मतभेदपछि आएको हो, जुन सामाजिक सञ्जालमा चर्किएको थियो। मस्कले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि विवाद चर्किएको छ। यो विधेयक ट्रम्प प्रशासनको मुख्य घरेलु नीति हो।

    एलन मस्कले ट्रम्पको चुनावी अभियानका लागि करोडौं डलर सहयोग गरेका थिए र ह्वाइट हाउसमा सल्लाहकारका रूपमा पनि काम गरेका थिए। धेरैजसो रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पकै पक्षमा उभिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै आक्रामक’ भएको बताए र अब उनलाई पुनः पार्टीभित्र स्वागत गरिने सम्भावना कम रहेको जनाए।

    भान्सले पोडकास्टर थियो भोनसँग भनेका छन्, ‘टेस्ला र स्पेसएक्सका सीईओ मस्कले राष्ट्रपति ट्रम्पमाथि हमला गर्नु ठूलो गल्ती हो।’ केही हप्ता अघिदेखि मस्कले ट्रम्पको ‘बिग ब्युटीफूल बिल’ नाम दिइएको विधेयकको आलोचना गर्दै आएका थिए, जुन कंग्रेसमा पास हुने क्रममा थियो।

    उनले भनेका थिए, ‘यो विधेयक पास भएमा यसले राष्ट्रको घाटा ट्रिलियन डलरसम्म बढाउनेछ र आफूले सरकारी खर्च कटौतीसम्बन्धी विभाग प्रमुखका रूपमा खर्च कटौती गर्न गरेको कामलाई कमजोर बनाउनेछ। विभाग प्रमुखको रूपमा १२९ दिन काम गरेर बाहिरिएपछि मस्कले सामाजिक सञ्जाल एक्समा लेखे, ‘यो विधेयक घिनलाग्दो विकृति हो।’ यद्यपि उनले ट्रम्पको नाम लिएका थिएनन्।

    तर, बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारबाट निराश छु।’ त्यसपछि मस्कले एक्समा लगातार पोस्ट गर्दै आफू नभएको भए ट्रम्पले चुनाव हार्थे भनेर दाबी गरे। साथै, उनले ट्रम्पलाई बदनाम वित्तपोषक जेफ्री एप्स्टीनसँग सम्बन्धित भएको आरोपसमेत लगाए, जसको जेलमा यौन तस्करी आरोपमा मृत्यु भएको थियो।

    पछि उनले त्यो पोस्ट मेटाए र एप्स्टीनका वकिलले पनि उक्त आरोप अस्वीकार गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै मस्क ‘पागल’ भएको टिप्पणी गरे। एक पोस्टमा उनले मस्कको संघीय सरकारसँग भएका ठेक्काहरू काट्ने चेतावनी पनि दिएका छन्।

    शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मस्कले राष्ट्रपति कार्यालयलाई सम्मान गर्न सकेनन्। यो एकदमै नराम्रो कुरा हो।’ मस्क, जो संसारकै सबैभन्दा धनी व्यक्ति हुन्, उनले ट्रम्पको चुनाव अभियानमा करिब २५० मिलियन डलर योगदान गरेका थिए। अहिलेको विवादका बेला उनले आगामी मध्यावधि चुनावमा ट्रम्पका विपक्षीहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ