जिम्बाब्वेले हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न दर्जनौँ हात्ती मारेर तिनको मासु उपभोगका लागि वितरण गर्ने घोषणा गरेको छ । मंगलबार जिम्बाब्वेको वन्यजन्तु प्राधिकरण (जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफ) ले यो जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
दक्षिणी अफ्रिकी देश जिम्बाब्वे बोत्स्वानापछि विश्वको दोस्रो ठूलो हात्ती भएको देश हो । जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले विज्ञप्तिमा दक्षिण–पूर्वमा रहेको ठूलो निजी खेल रिजर्भ, सेभ भ्याली कन्जर्भेन्सीमा ५० वटा हात्ती मार्ने योजना बनाएको बताएको छ । तर, कुल कति हात्तीहरू मारिने वा कति समयसम्म यो अभियान चल्ने भन्ने उल्लेख गरिएको छैन ।
सन् २०२४ को एक हवाई सर्वेक्षण अनुसार यो रिजर्भमा दुई हजार ५५० हात्ती रहेका छन् । यो संख्या ८०० को क्षमता भएको यो रिर्जभमा तीन गुणा बढी हो । गत पाँच वर्षमा कम्तीमा २०० हात्ती अन्य आरक्षित क्षेत्रहरूमा सारिएका छन् ।
जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले भनेको छ, “हात्तीहरूको व्यवस्थापनबाट प्राप्त मासु स्थानीय समुदायहरूलाई वितरण गरिनेछ । हात्तीको दाँत राज्यको सम्पत्ति हुनेछ । र, यसलाई सुरक्षित राख्न जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफलाई सुम्पिनेछ ।”
हात्तीको दाँत विश्वमा प्रतिबन्ध भएका कारण जिम्बाब्वेले आफ्नो दाँतको स्टक बेच्न सकेको छैन । यो घोषणा भएको एक दिनअघि राजधानी हरारेमा २३० किलोग्रामभन्दा बढी हात्तीको दाँत लिएर हिँडेका चारजनालाई गिरफ्तार गरिएको थियो । उनीहरूले यसको खरिददाता खोजिरहेका थिए ।
सन् २०२४ मा जिम्बाब्वेले २०० हात्ती मारेको थियो । जिम्बाब्वे खडेरीबाट गुज्रिएर खाद्यान्न अभावमा रहेका बेला यी हात्ती मारिएको थियो । यो सन् १९८८ पछिको पहिलो ठूलो हात्ती मार्ने अभियान थियो ।
हात्ती मारेर मासु वितरण गर्ने यो निर्णयले तीव्र आलोचना झेल्नुपरेको छ । जिम्बाब्वेमा हात्तीहरू विशेष गरी पर्यटनको प्रमुख आकर्षण मानिन्छ । एएफपी