२९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ संक्रमण देखिए यताकै उच्च हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले सोमबारसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना संक्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ संक्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना संक्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ ।
प्रदेशगतरुपमा सोमबार कोरोना संक्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।
देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० रहेका छन् । आइसोलेशनमा रहेका कोरोना संक्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।
हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ ।
प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना संक्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ ।
नेपालमा ५००भन्दा बढी संक्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै, हाल संक्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् ।
काठमाडौँ उपत्यकामा संक्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले भने, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।”