पहलगाम हमलापछि भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा नेपाली कांग्रेसले औपचारिक छलफल गरेको छ । आज बसेको पदाधिकारी बैठकमा कांग्रेसले भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा औपचारिक छलफल गरेको हो ।
बैठकपछि पत्रकारसँगको कुराकानीमा प्रवक्ता प्रकाशशरण महतले भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको बताएका छन् । उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं ।’नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए ।
नेपाली कांग्रेस कसको पक्षमा भन्ने प्रश्नमा उनले भने, ‘हामी आतंकवादी गतिविधि भयो त्यसको विपक्षमा उभिने हो । आतंकवादलाई संरक्षण गर्ने प्रवृति हुनुहुन्न भन्ने हाम्रो प्रष्ट धारणा हो ।’