सत्तारुढ नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा श्री ५ कहाँ छ भन्दै प्रश्न गरे।
‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो,’ गैरेले भने, ‘डा.फणिराज पाठक, संवाद सचिबका नामबाट प्रकाशित भएको वक्तव्य। त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश. म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ?’
यस्तो लेख्नेलेमाथि तत्काल कारबाही गर्नुपर्ने भन्दै उनले भने, ‘यो लेख्न कसरी सकिन्छ ? यो लेख्न कसरी सम्भव भयो? यो पाइन्छ कि पाइँदैन। यो संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? यो संवाद सचिव नाम रहेका फणिराज पाठक र यो समवेदना बक्सने ज्ञानेन्द्रवीर विक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु।’
पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गरेका थिए जसमा श्री ५ जानेन्द्र वीरविक्रम शाहदेव लेखिएको छ। उनले जारी गरेका अन्य वक्तव्यमा समेत त्यही लेख्ने गरेका छन्।