काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयी भएको घोषणा गरिएको हो ।
बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन् ।
उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । महासचिवमा पनि डा.मिश्रको समूहमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जितेका छन् ।
मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालामा अनुसार मिश्रले ५०५२ र कोइरालाले ५०८७ मत प्राप्त गरेका हुन् । मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् ।