राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाइएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार लामिछानेलाई सोमबार थुनामा पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए।
कार्यालय समय सुरू भएपछि प्रहरीले लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। त्यसपछि अदालतको पत्र लिएर उनलाई कारागार कार्यालय पठाइएको एसपी राठौरले बताए। जिल्ला कारागार कार्यालय रूपन्देहीका प्रमुख जगतबहादुर बस्नेतले लामिछानेलाई थुनामा राखिएको जानकारी दिए। शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो ।
उनका अनुसार लामिछानेलाई ४ नम्बरको ब्लकमा राखिएको छ। उनलाई राखिएको कोठमा अरू थुनुवा राखिएको छैन। ‘उहाँलाई अलग्गै कोठामा राखिएको छ,कारागार प्रमुख बस्नेतले भने।