चैत १८ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरेका हुन् ।
कार्यालय पुगेका लामिछानेले बैठकमा बस्नुपुर्व सबैलाई एकमुष्ट सम्वोधन गर्दै रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’
लामिछानेको भनाइ
मलाई सरकारले मुद्दामाथि मुद्दा लगाएर दुख दिइरहेको छ । सरकारले गर्न सक्नेजति जोडबल लगाएको छ । के भयो के भएन मैले भन्नु पर्दैन । केही न केही नभएको भए अदालतले त्यत्रो धरौटी लिन्छन् रु भनिरहेका छन् ।
म यत्ति भन्न चाहन्छु यिनीहरुको दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार ।
म राजनीतिमा नआएको भए यो दुख खेप्नुपर्ने थिएन भन्ने मलाई थाहा छ । संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन ।
सोचेको थिएँ केही समय विश्राम गरौं । शान्त बसौं । पार्टीका साथीहरुले जिम्मेवारीपूर्वक बलबुताले काम गरिरहनुभएको छ । तर म शान्त बसेको फाइदा उठाउँदै सरकारले टाउकोमा तरबार झुण्ड्याइदिन खोज्यो ।
एउटा जिल्लामा मुद्दा नबुझाएर राखेको छ । यसको टाउकोमा एउटा तरबार झुण्ड्याइदियो भने चुप हुन्छ भन्ने लागेको होला । कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल, म थाप्न तयार छु ।
म लड्छु । जुनसुकै शक्तिसँग लड्छु । तर यो लुटतन्त्रलाई लुटुटुलु हेरेर बस्ने लाछी मान्छे म होइन । अझै गर षडयन्त्र । अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु । कुनै दिन मैले चारवटै अदालतमा एकैदिन उपस्थित हुनुपर्छ । जे हुन्छ होस । थप केही मुद्दा लगाउनु छ भने लगाओस ।
जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोशिष गरिरहेका छन् । म कहाँ आगो बलेको छ तापौंला भनेर बसेको छैन । हामी स्पष्टरुपमा आएका थियौं । जनता आक्रोशित छन् ।
जनतामा ठूलो आक्रोश र निराशा छ । त्यसलाई चिनुपर्ने थियो । बदल्नुपर्ने थियो । घन्टी बजायौं । तर, यिनीहरु हाम्रो घन्टी फुटाउनतर्फ लागे ।
मलाई दुःख लाग्छ यतिखेर देश लगभग प्रतिपक्षविहीन भएर बसेको छ । सञ्चारकर्मीलाई सरकारी पक्ष नबन्न अनुरोध गर्छु । सशक्त प्रतिपक्षको आवश्यकता छ । तपाईंको इन्टेन्सन लोकतन्त्र बचाउने हो कि लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो ?
हामी गणतन्त्रवादीको कित्तामा छैनौ कि, गणतन्त्रवादी होइनौं कि भनेर हिलो छ्याप्ने प्रयास भएको छ । म भन्न चाहन्छु, जहाँ तपाईं उभिनुभएको छ, त्यो गणतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको थियो । रास्वपा खोल ओढ्दैन ।
रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छु । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँने रहर रास्वपालाई छैन । रास्वपा जनताको पक्षमा रास्वपा छ । परिवर्तनको पक्षमा छ ।