राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको बताएकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारले जनविश्वास गुमाइसकेको निष्कर्ष निकालेकी हुन्।
‘मैले पटकपटक भन्दै आइरहेको छु सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेको नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ। त्यसले के देखाउँछ भने सरकारले जनविश्वास गुमाइसकेको छ। गम्भीर संकटमा छ। तर यो संकट सरकार आफैले निम्त्याएको हो। सरकारले कानुनलाई न्यायका तराजु बनाउनुपर्ने थियो। तर प्रतिशोधको तरबार बनायो,’ उनले भनिन्।
गणतन्त्रमा जन्मिए, हुर्किएका उदाउँदै गरेको नयाँ शक्तिमाथि प्रतिशोध साँधिएको उनले बताइन्। यी शक्ति लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्ने पनि उनको धारणा थियो।