निर्माण घोषणादेखि नै प्रतीक्षित बनेको नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने भएको छ । मङ्गलवार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले यस चलचित्रको रिलिज मिति तोकेका हुन् । सो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्रायः सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ ।
रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ । पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन् ।
उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय, र सङ्घर्षका भाव देखिन्छ ।
सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’ चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्, यो उनको आठौँ चलचित्र हो । यसमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।
मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।