शुक्रबार, चैत १ गते २०८१

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

अखबार दैनिक
मंगलबार, फागुन २० २०८१
  • थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

    थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

    images

    यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिनुभयो ।

    पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उहाँले बताउनुभयो । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताउनुभयो । पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ ।

    थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताउनुभयो । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।

    खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ