सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालय भएको घरमा आगलागी भएको छ । गाउँपालिका–३, काफ्लेचौरस्थित कार्यालय भवनमा आइतबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार, बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुंगा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र स्थानीयबासीको सहयोगमा आगो निभाउन सफल भएको घिमिरेले बताए । आगलागी हुँदा ग्यास सिलिण्डर समेत विस्फोट भएपछि आगो थप फैलिएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको बताए । यद्यपि, गाउँपालिकाको सरकारी दस्ताबेज भने जलेर नष्ट भएको जानकारी दिए । रासस