परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन्।
ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै घटनाबारे गरिएको कूटनीतिक पहलबारे जानकारी गराएकी हुन्।
उनी भारतीय विदेशमन्त्री डा. एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा यही फागुन २ गते ओमन प्रस्थान गएकी थिइन्।
उनले ओडिसा घटनाबारे बिहीबारमात्रै त्यहाँका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग फोनमार्फत कुरा गरेको बताइन्। कुराकानीमा नेपाली विद्यार्थीको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाही गर्न ध्यानाकर्षण गरेको जानकारी दिइन्।