काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को चौकीदारले समेत नेपाल र नेपालीको अपमान हुनेगरी विद्यार्थीलाई पिट्ने र अभिव्यक्ति दिने गरेको बताएका छन् । केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा अहिले त्यहाँ तनावपूर्ण अवस्था रहेको छ । सो घटनापछिको विकसित परिस्थिति समाधान गर्न सरकारले कुटनीतिक पहल नगरेको नेता झाले बताए ।
‘संसद् र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिएपनि जनताले दुई तिहाइको अनुभूति नै गर्न नपाएको उनले बताए । ‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए । तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए । हामी दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरुले त केही पनि फिल गर्न पाएको रहेन छ,’– उनले भने ।