काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले छात्राबासमा रहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा माफी मागेको छ ।
केआइआइटीले आज एक विज्ञप्ति जारी गर्दैै घटनालाई गम्भीर रुपमा लिएको जनाउँदै माफी मागेको हो । उसले गहिरो दुख व्यक्त गर्दै नेपाली विद्यार्थीलाई अभद्र व्यवहार गर्ने दुई जना सुरक्षा गार्डलाई सेवाबाट हटाइएको र तीन जना निलम्बित भएको जनाएको छ ।
‘हाम्रा कर्मचारीको व्यवहारबारे, हामी मान्छौं कि आवेगमा आएर केही टिप्पणीहरू भए र त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहान्छौं । हामी सबै भन्दा माथि विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं,’ सूचनामा भनिएको छ।
आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल मृत फेला परेकी थिईन् । भारतीय एक नागरिकको प्रेसर सहन नसक्दा उनले आत्माहत्या गरेको त्यहाँ रहेका नेपाली विद्यार्थीको आरोप छ । ती युवा हाल प्रहरीको नियन्त्रणमा छन् । पक्राउ परेका युवा प्रकृतिको प्रेमी हुन् ।