प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता साझेदार दलहरूबीच उच्च विश्वास र समझदारी रहेको बताएका छन् । गठबन्धनका दलहरूबीच शंका उपशंका नरहेको उनले बताए । आइतबार प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तरमा कांग्रेस सांसद डा. प्रकाशशरण महतले सोधेको एक प्रश्नको जवाफमा ओलीले गठबन्धनका दलहरूबीच कुनै अविश्वास नरहेको बताएका हुन् ।
‘विकास, समृद्धि र स्थिरताका लगि प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका रहेका दुई ठूला दल र अन्य दल मिलेर वर्तमान सरकारको गठन गरिएको हो,’ ओलीले भने, ‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिइ राजनीतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदारबीच कुनै शंका उपशंका गरिराख्नु पर्दैन । हामीबीच उच्च विश्वास र समझदारी छ ।’