बिहीबार , असोज ३ गते २०८१

प्रेस काउन्सिल नेपालले गरेको मिडिया सर्वेक्षणप्रति मिडिया सोसाइटीको आपत्ति

प्रेस काउन्सिल नेपालले गरेको मिडिया सर्वेक्षणप्रति मिडिया सोसाइटीको आपत्ति

अखबार दैनिक
शुक्रबार, जेठ ३० २०७७
  • प्रेस काउन्सिल नेपालले  गरेको मिडिया सर्वेक्षणप्रति मिडिया सोसाइटीको आपत्ति

    ३० जेठ,काठमाडौँ । प्रेस काउन्सिल नेपालले जेठ १६ मा सार्वजनिक गरेको मिडियामाथिको विश्वसनीयतासम्बन्धी अध्ययन र सर्वेक्षण प्रतिवेदनबारे नेपाल मिडिया सोसाइटी र यसमा आबद्ध छापा, रेडियो तथा टेलिभिजनलगायत प्रकाशन तथा प्रसारण संस्थाहरूले आपत्ति जनाएका छन् ।

    images

    नेपाल मिडिया सोसाइटीका तर्फबाट अध्यक्ष शुभशंकर कँडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा उक्त सर्वेक्षण रद्द गरी क्षमायाचना गर्न माग गरिएको छ ।

    ‘यो प्रतिवेदन यस्ता थुप्रै अनर्गल दुष्प्रचार र दुराशयले भरिएको छ । त्यसकारण यसलाई तुरुन्त रद्द गर्दै प्रेस काउन्सिल नेपालबाट नेपाली मिडियाकै हुर्मत लिने कार्य हुन पुगेकोमा क्षमायाचना गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीको मौका छोपेर सार्वजनिक गरिएको सो तथाकथित सर्वेक्षण प्रतिवेदन बदनियतपूर्ण, अवैज्ञानिक, गलत नियतबाट प्रेरित र हास्यास्पद रहेको सोसाइटीको ठहर छ ।’

    कोरोना महामारीको मौका छोपेर काउन्सिलले ल्याएको उक्त प्रतिवेदनले अनुसन्धानको प्रचलन र मान्यताको धज्जी उडाएर विधिको शासन र स्वतन्त्र पत्रकारिताको समेत मर्ममा प्रहार गरेको निष्कर्ष सोसाइटीको छ । ‘पछिल्लो समयमा विभिन्न बहानामा मिडिया उद्योगको हुर्मत लिने सिलसिलामा मिडिया हाउस र स्वतन्त्र पत्रकारहरूको बचेखुचेको जोस र जाँगरमाथि पनि प्रहार गर्न नियोजित रूपमा कोरोना महामारीको मौका छोपेर ल्याइएको, कसैको कुत्सित नियत पूरा गरिदिन जारी गरिएको भनिएको प्रतिवेदनले प्रेस काउन्सिल र त्यसका अधिकारीहरूको हैसियतलाई समेत धुलिसात पारेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आफैं सर्वेक्षण गर्ने, आफैं प्रतिवेदन तयार गर्ने र आफैंले सो बुझ्ने अचम्मको विधि अपनाउँदै प्रतिवेदन सार्वजनिक गरेर हास्यास्पद तमासा देखाइएको छ ।’

    सोसाइटीले पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइन गरी देशभर २० हजारभन्दा बढी आमसञ्चार माध्यम क्रियाशील रहेको र त्यसका लाखौं उपभोक्ता नेपाल र विदेशमा रहेको उल्लेख गर्दै सोसाइटीले जम्माजम्मी १ सय ७६ जनामा सर्वेक्षण गरी विश्वसनीयतासम्बन्धी नतिजा सार्वजनिक गर्नु भनेको नेपालका मूलधारका सञ्चार माध्यमको तेजोबध गर्ने कुत्सित उद्देश्य रहेको जनाएको छ ।

    ‘काउन्सिलले नेपाल पत्रकार महासंघका अध्यक्षको संयोजकत्वमा गठित भनिएको सर्वेक्षण टोलीको कामले महासंघको गरिमामय इतिहासमाथि समेत धब्बा लगाउने मात्र काम गरेको छैन कि सर्वेक्षण प्रणालीको प्राज्ञिक र वैज्ञानिक विधिको समेत हुर्मत लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता प्रकारका कथित प्रतिवेदनले समग्रमा स्वतन्त्र मिडियाको विश्वव्यापी मान्यताको समेत धज्जी उडाउने निश्चित छ ।’

    मिडिया सोसाइटीले मिडिया काउन्सिल विधेयक छिटो पारित गर्न पनि माग गरेको छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा आएको मिडिया काउन्सिल विधेयक आवश्यक परिमार्जनसहित यथाशीघ्र पारित गरी प्रेस काउन्सिलजस्ता संस्थाको विस्थापन गर्नसमेत उसले माग गरेको छ । उसले कुनै पनि सर्वेक्षण गर्दा र त्यसको प्रतिवेदन सार्वजनिक गर्दा सम्बन्धित संस्थाको अनुमति अनिवार्य रूपमा लिनुपर्नेमा मनोमानी ढंगले सार्वजनिक गरिएको आरोपसमेत लगाएको छ ।

    सोसाइटीले नेपाल पत्रकार महासंघ आफैं काउन्सिलको शाखाजस्तो भएको भन्दै सचेत रहन सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ । काउन्सिलले मूलधारका मिडियालाई नियोजित रूपमा प्रहार गरिएको उल्लेख गर्दै यस्ता क्रियाकलाप बन्द गर्न सचेत गराइएको छ । ‘नेपालका मूलधारका मिडियालाई उत्तेजित बनाउने जस्ता गलत कामको लामो फेहरिस्तमा प्रेस काउन्सिल फस्दै आएको छ । यस्ता क्रियाकलापको सोसाइटीले भर्त्सना गर्दै तत्काल सच्याउन र आगामी दिनमा समेत यस्ता क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु, विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ