आइतबार, चैत ३ गते २०८१

तनहुँमा अफ्रिकन स्वाइन फिभरले मरे १६ बङ्गुर

तनहुँमा अफ्रिकन स्वाइन फिभरले मरे १६ बङ्गुर

अखबार दैनिक
शुक्रबार, फागुन २ २०८१
  • तनहुँमा अफ्रिकन स्वाइन फिभरले मरे १६ बङ्गुर

    अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका छन्। विगत एक महिनाअघिदेखि जिल्लामा यो रोग देखापर्न थालेको हो। जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यासगरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो।

    images

    जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिं ठकुरीले जानकारी दिए।

    भिमादमा १९ बङ्गुरमा सङ्क्रमण देखिएकामा १४ बङ्गुर र शुक्लागण्डकी नगरपालिकामा दुईमा सङ्क्रमण देखिएकामा दुईवटै गरी १६ बङ्गुर मरिसकेका छन्। त्यसैगरी व्यासमा केही फार्ममा बङ्गुर बिरामी भएको जानकारी पाएपछि कार्यालयबाट पशु चिकित्सकसहितको टोली पठाइएको छ। सबैभन्दा बढी भिमाद यो रोगबाट प्रभावित भएको छ। जिल्लामा १३ हजार ५०० कृषकले ४० हजार बङ्गुर पालेको तथ्याङ्क रहेको छ।

    अफ्रिकन स्वाइन फिभर रोग किर्नाको टोकाइबाट, दूषित दानापानीबाट, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट र सङ्क्रमित सुईबाट सर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन्। महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको केन्द्रका प्रमुख डा राजेश चौधरीको भनाइ रहेको छ।

    बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुँगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। उनले भने, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ।” उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

    चौधरीका अनुसार बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने तथा सर्नेजस्ता लक्षण देखिन्छ। रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ